काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट इलेक्ट्रिक भेहिकल (ईभी) ब्रान्ड दिपल (Deepal) को आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प ले काठमाडौंको महाराजगञ्जमा अत्याधुनिक स्टेट अफ द आर्ट सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमसँगै कम्पनीले राजधानीमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै विश्वस्तरीय ईभी सेवा नेपाली उपभोक्ताको पहुँचमा पुर्याउने अभियानलाई नयाँ गति दिएको जनाएको छ।
यसै अवसरमा एमएडब्लुले एपोलो मोटर्स लाई दिपलको काठमाडौंका लागि आधिकारिक डिलर नियुक्त गर्दै बिक्री तथा सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदम चालेको छ। कम्पनीका अनुसार नयाँ साझेदारीले ग्राहकलाई गुणस्तरीय सेवा, सहज पहुँच र उत्कृष्ट बिक्रीपछिको सुविधा उपलब्ध गराउने विश्वास लिइएको छ।
नयाँ सोरुमको संयुक्त उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली, महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया ले गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल ले नेपालमा विद्युतीय सवारी साधनको बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै दिपल त्यस परिवर्तनको अग्रपंक्तिमा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपाली ईभी बजार अहिले अत्यन्त उत्साहजनक चरणमा पुगेको छ। दिपल भविष्यको मात्र होइन, दीर्घकालसम्म विश्वासिलो लिगेसी ब्रान्ड बन्ने क्षमता बोकेको ब्रान्ड हो। एमएडब्लु यसलाई दशकौंसम्म नेपाली बजारमा स्थापित गर्न प्रतिबद्ध छ।”
अग्रवालले ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै देशका प्रमुख सहरहरूमा थप सोरुम तथा अत्याधुनिक सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको जानकारी पनि दिनुभयो।
कार्यक्रमको अर्को विशेष आकर्षण अत्याधुनिक ह्युमनोइड रोबोट तथा रोबोट डग को प्रत्यक्ष प्रदर्शन रह्यो। कृत्रिम बौद्धिकता (एआई) र स्वचालन प्रविधिमा आधारित यी प्रविधिले उपस्थित अतिथिहरूलाई भविष्यको अटोमोबाइल प्रविधिको प्रत्यक्ष अनुभव गराउँदै चांगान–दिपलको नवप्रवर्तनप्रतिको दृष्टिकोण झल्काएको थियो।
कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवाली ले दिपलको आधिकारिक डिलर बन्न पाउनु गर्वको विषय भएको बताउँदै नयाँ सोरुम केवल गाडी किन्ने स्थान नभई ग्राहकले दिपलका आधुनिक ईभी प्रविधि नजिकबाट अनुभव गर्ने गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो।
उद्घाटनकै अवसरमा कम्पनीले २० जना ग्राहकलाई नयाँ दिपल ईभी हस्तान्तरण गरेको थियो। ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल तथा विनोदराज ज्ञवाली ले संयुक्त रूपमा ग्राहकलाई सवारीको चाबी हस्तान्तरण गर्दै नयाँ यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो।
एमएडब्लु वृद्धि अटोकर्पका अनुसार महाराजगञ्जमा सञ्चालनमा आएको नयाँ सोरुमले अत्याधुनिक पूर्वाधार, आधुनिक ग्राहक सेवा, अन्तर्राष्ट्रियस्तरको अनुभव तथा विश्वसनीय बिक्रीपछिको सेवामार्फत नेपालको विद्युतीय सवारी बजारलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।