काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । कम्पनीको २५औँ वार्षिकोत्सवको अवसरमा प्राप्त यो सम्मानलाई नेपाल लाइफले अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले सोमबार उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको आइक्यानले जनाएको छ ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए । उनले यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन कायम राख्न थप जिम्मेवार बनाएको उल्लेख गरे । साथै उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।
कम्पनीका अनुसार, चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ । नेपाल लाइफले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ । वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति र दायित्व बहन गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस (एए-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत नेपाल लाइफ स्थापित भएको कम्पनीले जनाएको छ ।
