काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ ।

यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ । विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले विश्वको सर्वोच्च विलासी गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको हो ।

कालीगण्डकी नदीको तटमा अवस्थित यस रिसोर्टको परिकल्पना प्रख्यात ‘म्याक्सिमलिस्ट’ डिजाइनर बिल बेन्स्लीले गरेका हुन् । परम्परागत बाग्लुङ ढुङ्गाको प्रयोग गरी निर्माण गरिएको यस भवनमा २९ वटा विशेष सुविधायुक्त कोठाहरू रहेका छन् । जहाँबाट निलगिरि र धौलागिरी लगायतका हिमालहरूको अद्भूत दृश्य देख्न सकिन्छ ।

यात्रा विशेषज्ञहरूले यसलाई शरीर, मन र आत्माको शान्तिका लागि परम विश्रामस्थल भनेर व्याख्या गरेका छन् । यहाँ आउने पाहुनाहरूका लागि कम्तीमा पाँच रातको बसाई अनिवार्य गरिएको छ, जसले गर्दा पर्यटकहरूले मुस्ताङको प्रकृति र संस्कृतिमा पूर्ण रूपमा घुलमिल हुने र पुनर्ताजगी महसुस गर्ने अवसर पाउँछन् ।

शिन्तामणि मुस्ताङमा पुग्ने पाहुनाहरूका लागि हिमाली पदयात्रा, घोडचढी, र धनुषबाण जस्ता परम्परागत खेलहरूको व्यवस्था गरिएको छ । साथै, ८०० वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको अध्ययन र रिसोर्टमै उपलब्ध परम्परागत तिब्बती चिकित्सा पद्धति ‘आम्ची’को सेवा यहाँका मुख्य आकर्षण हुन् ।

एभरेष्ट क्षेत्रको तुलनामा कम जनघनत्व भएको र शान्त रहेको यो क्षेत्र विशेषगरी एकान्त र मौलिकता रुचाउने विश्वका धनाढ्य पर्यटकहरूको रोजाइमा परेको छ । रोब रिपोर्टले आफ्ना २४ जना विश्वविख्यात ट्राभल विज्ञहरूको सिफारिस र स्थलगत अनुभवका आधारमा यो सूची तयार पारेको हो । सेवाको गुणस्तर, व्यवस्थापन, लोकेसन र मौलिकतालाई मुख्य आधार मानेर गरिएको यस मूल्याङ्कनमा नेपालको रिसोर्टले सर्वाधिक अङ्क प्राप्त गरेको छ ।

यस सूचीको दोस्रो स्थानमा रुवान्डाको सिंगिता क्विटोन्डा र तेस्रो स्थानमा स्कटल्याण्डको होप लज रहेका छन् । त्यसैगरी चौथोमा जापानको पार्क हयात टोकियो र पाँचौँ स्थानमा भारतको शक्ति प्राणपर्न सफल भएका छन् ।

नेपालको मुस्ताङले विश्वस्तरको यस्तो ठूलो सम्मान पाउनुले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ । यसले नेपाललाई केवल साहसिक पदयात्राका लागि मात्र नभई विश्वकै उत्कृष्ट लक्जरी पर्यटकीय गन्तव्यको रूपमा समेत अन्तर्राष्ट्रिय स्तरमा बलियो पहिचान दिएको छ ।