काठमाडौं । इस्लामी संघ नेपालका अगुवा मौलाना नरुल हुसेनले नेपालमा भएको पछिल्लो घटनालाई धार्मिक दंगाको रूपमा नहेर्न आग्रह गरेका छन् ।
उनले तराई–मधेसमा भएको घटनालाई हिन्दु–मुस्लिमबीचको विवाद नभई गलत तत्वहरूले परिस्थितिको दुरुपयोग गरेको दाबी गरे ।
हुसेनले आफू पनि घटनास्थलसँग जोडिएको क्षेत्रमै जन्मे–हुर्केको बताउँदै त्यहाँका समुदायबीच लामो समयदेखि आपसी सद्भाव कायम रहेको उल्लेख गरे ।
‘हामी जसरी मिलेर बस्दै आएका थियौँ, भोलि पनि त्यसरी नै बस्ने विश्वास छ । तर यस्तो अवस्था कसरी आयो भन्ने कुरा मैंले अहिलेसम्म बुझ्न सकेको छैन,’ उनले भने ।
उनका अनुसार प्रारम्भिक घटना सामान्य विवादबाट सुरु भएको थियो । ‘केटाकेटीबीचको भनाभनलाई लिएर प्रहरीले साम्य पार्न खोजेको थियो । त्यसपछि दुई समूहबीच ठूलो झगडा भएको अवस्था थिएन,’ उनले भने ।
उनले प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा गोली चलेको विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए । ‘हवाई फायर भएको भनिएको छ । त्यसपछि सशस्त्र प्रहरीले पनि फायर गरेको छ । तर गोली कहाँबाट लाग्यो भन्ने कुरा अनुसन्धानबाट मात्रै स्पष्ट हुन्छ,’ उनले भने ।
हुसेनले घटनालाई धार्मिक रंग दिन खोजिएको आरोप लगाए । ‘यो हिन्दु-मुस्लिमबीचको द्वन्द्व होइन । प्रहरी र अर्को समूहबीच भएको घटनालाई बाहिरबाट धार्मिक दंगाको रूपमा प्रस्तुत गर्ने प्रयास भएको छ,’ उनले भने ।
उनले यसलाई ‘राष्ट्रलाई कमजोर बनाउने उद्देश्यसहित गरिएको योजनाबद्ध प्रयास’ भएको दाबी गर्दै सबै समुदायलाई संयम अपनाउन आग्रह गरे । ‘धर्मले मानवता, शान्ति, राष्ट्रप्रेम र आत्मशुद्धिको शिक्षा दिन्छ । धर्मको नाम प्रयोग गरेर समाजमा विभाजन ल्याउने काम स्वीकार्य हुन सक्दैन,’ उनले भने ।
हुसेनले सबै धर्मका धर्मगुरुहरूलाई समाजमा गएर युवापुस्तालाई शान्ति र सहअस्तित्वको सन्देश दिन आग्रह गरे । ‘हिन्दु, बौद्ध, किरात, क्रिस्चियन र मुस्लिम सबै धर्मगुरुले मठमन्दिर वा मस्जिदमा मात्रै प्रवचन दिने होइन, समाजमा पुगेर नयाँ पुस्तालाई मानवता र सद्भावको शिक्षा दिन आवश्यक छ,’उनले भने ।
उनले अभिभावकहरूलाई पनि बालबालिकाका लागि समय निकालेर मानवता, देशप्रेम र सामाजिक जिम्मेवारीबारे शिक्षा दिन आग्रह गरे ।
राजनीतिक दलहरूलाई उनले राजनीतिक स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकता दिन आग्रह गरे । हुसेनले घटनाको पूर्वसूचना र तयारीमा राज्य संयन्त्र चुकेको हुन सक्ने बताए ।
‘राजनीतिक प्रतिस्पर्धा गर्नुस्, तर देश, जनता र जनधनलाई बलि बनाएर होइन, यदि समयमै निगरानी भएको भए र अवस्थाबारे जानकारी भएको भए यस्तो घटना रोक्न सकिन्थ्यो,’ उनले भने ।
उनले सुरक्षा निकायले बल प्रयोगको सन्तुलन र घटनापछि गरिनुपर्ने कारबाहीमा पनि गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले दण्डहीनताको अन्त्य नभएसम्म यस्ता घटना दोहोरिन सक्ने बताए । ‘जसले अपराध गरेको छ, उसलाई समुदाय वा धर्मको आधारमा होइन, अपराधीको रूपमा हेरेर कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।
हुसेनले मुस्लिम समुदायलाई लक्षित गरी फैलाइने अफवाहप्रति पनि आपत्ति जनाए । रोहिंग्या समुदायको विषय उठाउँदै उनले शरणार्थी व्यवस्थापन राज्यको जिम्मेवारी भएको बताए ।
‘कुनै व्यक्ति बाहिरबाट आएको हो वा होइन, उसलाई बस्न दिने वा नदिने निर्णय सरकारको काम हो । हामी सरकारलाई सहयोग गर्न तयार छौँ,’ उनले भने ।
उनले नेपाली नागरिकलाई धर्म वा समुदायका आधारमा विदेशीको रूपमा चित्रण नगर्न आग्रह गरे । ‘नेपालीलाई नेपालीकै नजरले हेरौँ । यदि कोही देशविरोधी गतिविधिमा संलग्न छ भने सरकारले कडा कदम चाल्नुपर्छ,’ उनले भने ।
हुसेनले सबै नेपालीलाई शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न अपिल गरेका छन् ।