काठमाडौं, साउन २१। स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवाली ले नेपालमा बढ्दो युवा पलायनलाई रोक्दै युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले स्टार्टअप अभियान सुरु गरिएको बताउनुभएको छ।
त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सम्भावनाको कमी नभएको तर अवसरसँग जोड्ने वातावरणको अभाव रहेको बताउनुभयो।
“हामीले युवालाई विदेश जान नदिन मात्र खोजेका होइनौँ, नेपालमै विश्वस्तरीय अवसर सिर्जना गर्ने वातावरण बनाउन खोजिरहेका छौँ,” उहाँले भन्नुभयो।
नेपालका उत्पादन, सेवा, प्रविधि र नवीन सोचलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यका साथ अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा देशका सातै प्रदेश र ७७ जिल्लामा स्टार्टअपसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
विश्वका धेरै ठूला कम्पनीहरू सामान्य युवाको एउटा सामान्य विचारबाट सुरु भएको स्मरण गराउँदै उहाँले नेपालमा पनि हजारौँ सफल स्टार्टअप जन्माउन सकिने विश्वास व्यक्त गर्नुभयो।
सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक, लगानीकर्ता तथा उद्यमीबीच सहकार्य गरेर मात्रै बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रमको तस्बिर :-

