कार्यक्रमको औचित्य र आगामी अभियान : स्टार्टअप समिट नेपाल–२०२६

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार

आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ कुनै एकदिने औपचारिक कार्यक्रम वा सेमिनार मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र उत्पादनमुखी सोचको संस्कृतिलाई संस्थागत गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो। नेपालमा बढ्दो युवा पलायन, सीमित रोजगारीका अवसर, नवीन सोच भएका युवाले आवश्यक मार्गदर्शन, लगानी र सहकार्यको अभावमा आफ्ना सिर्जनात्मक अवधारणालाई व्यवसायमा रूपान्तरण गर्न नसकिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो अभियानको सुरुवात गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपालमा प्रतिभा, सीप र सम्भावनाको कमी छैन, तर ती प्रतिभालाई अवसरसँग जोड्ने संयन्त्र अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। यही अन्तरलाई कम गर्दै विद्यार्थी, युवा, अनुसन्धानकर्ता, उद्यमी, उद्योगी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, विश्वविद्यालय, सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्यको साझा मञ्च निर्माण गर्ने उद्देश्यले स्टार्टअप समिट नेपाल–२०२६ सुरु गरिएको हो।

अभियानअन्तर्गत देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा पुगेर स्टार्टअपको अवधारणा, नवप्रवर्तन, व्यवसाय स्थापना प्रक्रिया, व्यवसाय योजना निर्माण, सहुलियतपूर्ण कर्जा, लगानीका अवसर, डिजिटल उद्यम, निर्यात, विश्व बजारमा प्रवेश गर्ने रणनीति तथा सफल नेपाली र अन्तर्राष्ट्रिय उद्यमीका अनुभवहरू युवामाझ पुर्‍याइनेछ। यसबाट अध्ययनसँगै उद्यमशील सोचको विकास गर्दै युवालाई जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने नेतृत्व का रूपमा तयार पार्ने लक्ष्य लिइएको छ।

आयोजकले नेपाललाई केवल श्रम निर्यात गर्ने देशका रूपमा होइन, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता र सिर्जनशीलताको केन्द्र का रूपमा स्थापित गर्ने दीर्घकालीन सोचका साथ अभियान अघि बढाइएको जनाएको छ। विश्वविद्यालयमा भएका अनुसन्धान, युवाका नवीन विचार र निजी क्षेत्रको अनुभवलाई एउटै साझा प्लेटफर्ममा जोड्दै उत्पादन, रोजगारी, लगानी र आर्थिक विकासबीच सशक्त सम्बन्ध स्थापित गर्ने अभियानको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।

आगामी दिनमा सरकार, विश्वविद्यालय, स्थानीय तह, निजी क्षेत्र, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र सफल नेपाली उद्यमीहरूसँग सहकार्य गर्दै देशका सातै प्रदेश र ७७ वटै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, नेपालका युवालाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने, स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्ने तथा ‘स्टार्टअपमार्फत समृद्ध नेपाल’ को राष्ट्रिय अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

“नेपालको भविष्य केवल सरकारी जागिरमा होइन, सिर्जनशील युवा, नवीन सोच र सफल उद्यममा निर्भर छ। आज रोपिएको स्टार्टअपको बीउले भोलिको आत्मनिर्भर, समृद्ध र प्रतिस्पर्धी नेपालको जग निर्माण गर्नेछ।” यही विश्वासका साथ स्टार्टअप समिट नेपाल–२०२६ को औपचारिक यात्रा त्रिभुवन विश्वविद्यालयबाट प्रारम्भ भएको स्टार्टअप समिट नेपाल–२०२६कि संयोजक शोभा ज्ञवाली र  आयोजक टिमले  जनाएको छ।

त्रिभुवन विश्वबिद्यालयमा आयोजित कार्यक्रमको तस्बिर :

स्टार्टअप समिट नेपाल–२०२६ अन्तर्गत थापगाउस्थित प्रेसिडेन्टल कलेजमा आयोजित कार्यक्रमको तस्बिर :-

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार