भोटेकोशी बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

  • Clock icon
    २०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

इप्पानको बिहीबार बसेको २०६ औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै इप्पानले ती आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

इप्पान तथा इप्पानसँग आबद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र भएकाले विपद्का बेला सबै सदस्य कम्पनी एकजुट भएर सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले इप्पानका सम्पूर्ण सदस्य कम्पनीलाई विपद्पीडितका लागि सक्रिय र उदारतापूर्वक सहयोग गर्नसमेत आग्रह गरे ।

  • Clock icon
    २०८३ भाद्र १२, शुक्रबार