साउनमै जीवन बीमाको व्यवसाय ३३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको साउनसम्ममा कुल २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनसम्म जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। यसअनुसार एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन ३३.४४ प्रतिशतले बढेको हो।

कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको साउनमा ६ अर्ब ९९ करोड ३१ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो। यससँगै नेपाल लाइफको बीमा व्यवसाय १२.९३ प्रतिशतले बढेको छ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनी ३ अर्ब ९९ करोड २७ लाख ४० हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले ४३ करोड ३९ लाख १६ हजार रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको थियो। यस आधारमा कम्पनीको व्यवसाय ८२०.१६ प्रतिशतले बढेको देखिन्छ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले साउनमा २ अर्ब ९१ करोड ३१ लाख ५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय २०.६५ प्रतिशतले बढेको हो।

हिमालयन लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ४१ लाख २९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी, एलआइसी नेपालले २ अर्ब १४ करोड १४ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय ४.९८ प्रतिशतले बढेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ५१ करोड ७९ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दै २१.९० प्रतिशतको वृद्धि हासिल गरेको छ। एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ११ करोड ११ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको व्यवसाय १७.१४ प्रतिशतले बढेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले साउनमा ९६ करोड १ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय १२.११ प्रतिशतले बढेको हो।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले ९० करोड ९४ लाख ३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय ३५.६३ प्रतिशतले बढेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ८५ करोड ४३ लाख २ हजार रुपैयाँ आर्जन गर्दै १८.७३ प्रतिशतको वृद्धि गरेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साउनमा ७६ करोड ११ लाख २९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय २३.३९ प्रतिशतले बढेको छ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ७० करोड ६६ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय २१.४६ प्रतिशतले वृद्धि भएको छ।

मेट लाइफले साउनमा ६० करोड २८ लाख ५८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा ११.६४ प्रतिशतले बढेको हो।

सूचीको अन्तिममा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ६९ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय भने २७.८५ प्रतिशतले बढेको छ।

यसरी चालु आर्थिक वर्षको पहिलो महिनामै सबै १४ जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको छ। कुल बजारमा समेत ३३.४४ प्रतिशतको वृद्धि भएपछि जीवन बीमा व्यवसायले नयाँ आर्थिक वर्षको सुरुवात उत्साहजनक रूपमा गरेको देखिन्छ।