स्थानीय तह केन्द्रित संगठन विस्तारमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा पहिचानको अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

रास्वपा डोटी जिल्ला सभापति केशब बलायरले २०७९ सालदेखि जिल्लामा संगठन निर्माणको काम जारी रहेको बताउँदै विभिन्न क्षेत्रका बौद्धिक तथा सामाजिक व्यक्तिलाई पार्टीसँग जोड्ने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार आगामी निर्वाचनका लागि पार्टीले व्यक्तिभन्दा पनि जनताको समस्या बुझेर समाधान गर्न सक्ने नेतृत्वलाई प्राथमिकता दिने नीति लिएको छ ।

कुराकानीमा बलायरले स्थानीय तहमा कुन पार्टीको व्यक्ति निर्वाचित हुन्छ भन्नेभन्दा पनि जनताको अपनत्व लिएर काम गर्न सक्ने व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताए ।

‘व्यक्ति कुन भूगोलबाट वा कुन पार्टीबाट आयो भन्नेभन्दा पनि जनताको लागि काम गर्न सक्ने व्यक्ति स्थानीय तहमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो,‘ उनले भने,‘जनताको अभिभावकका रूपमा काम गर्न सक्यो भने स्थानीय सरकार र राजनीतिप्रति जनताको विश्वास बढ्छ ।’

रास्वपाले डोटीका विभिन्न गाउँ तथा टोलमा पुगेर जनताका समस्या सुन्ने अभियान सञ्चालन गरिरहेको उनले बताए । प्रत्यक्ष संवादमार्फत संकलन भएका समस्या तत्काल समाधान गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्ने र पार्टीको पहुँचभन्दा बाहिरका विषयलाई सरकारका विभिन्न निकायसम्म पु¥याउने काम भइरहेको उनको भनाइ छ । बलायरले चुनावको समयमा मात्रै जनताको घरदैलोमा पुग्ने र निर्वाचित भएपछि गाउँ नफर्किने राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने बताए । उनका अनुसार रास्वपाले परम्परागत राजनीतिक संस्कारभन्दा फरक अभ्यास स्थापित गर्ने प्रयास गरिरहेको छ ।

‘चुनावको बेला घरदैलो गर्ने, विभिन्न आश्वासन दिने तर निर्वाचित भएपछि गाउँमा नजाने प्रवृत्ति तोड्नुपर्छ,‘ उनले भने, ‘नयाँ राजनीतिक संस्कार र फरक रणनीतिक योजनाका साथ हामी अगाडि बढिरहेका छौँ ।’

उनका अनुसार पार्टीले सबैलाई नेता बनाउनेभन्दा पनि समाजमा काम गर्न चाहने व्यक्तिलाई नेतृत्वका लागि तयार गर्ने र जनताका वास्तविक एजेन्डालाई राजनीतिक तहमा उठाउने काम गरिरहेको छ । आगामी दिनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरूसँग पार्टीको संवाद र अन्तरक्रिया पनि भइरहेको उनले बताए ।

विकासका लागि पहिले नीति र कानुन बलियो हुनुपर्छ

बलायरले देशको विकासमा देखिएको ढिलाइको प्रमुख कारणमध्ये नीतिगत कमजोरी पनि रहेको बताए । उनका अनुसार विगतमा आवश्यक अध्ययन र छलफलविना कानुन निर्माण गर्ने प्रवृत्तिका कारण कार्यान्वयनका क्रममा समस्या आउने गरेको छ । ‘घर बलियो बनाउन जग बलियो हुनुपर्छ । त्यसैगरी देश निर्माणका लागि जनतामुखी र विकासलाई सहयोग गर्ने कानुन आवश्यक हुन्छ,‘ उनले भने ।

‘घर बलियो बनाउन जग बलियो हुनुपर्छ । त्यसैगरी देश निर्माणका लागि जनतामुखी र विकासलाई सहयोग गर्ने कानुन आवश्यक हुन्छ

सरकारले अहिले विभिन्न विषयमा अध्ययन र सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्न खोजिरहेको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिएको बताए । शिक्षा क्षेत्रलगायतका विषयमा प्रदेश तहसम्म पुगेर छलफल भइरहेको र यस्ता प्रक्रियाले कानुन निर्माणलाई बढी व्यवहारिक बनाउन सहयोग गर्ने उनको भनाइ छ । तर जनतामा तत्काल सेवा र विकासको अपेक्षा रहेकाले कानुन निर्माण तथा विकास निर्माणका कामलाई आवश्यकताअनुसार तीव्र गतिमा अघि बढाउनुपर्ने उनले बताए । सार्वजनिक खरिद प्रणालीलगायतका विषयमा समेत थप अध्ययन गरी प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

स्थानीय तह केन्द्रीत रणनीतिमा रास्वपा

बलायरले संघीय सरकारमा मात्र रहेर रास्वपाले परिकल्पना गरेको राजनीतिक तथा विकासको मोडल जनताको तल्लो तहसम्म पु¥याउन नसकिने बताए । स्थानीय र प्रदेश सरकारमा समेत उपस्थित भएर मात्रै पार्टीले खोजेको प्रणालीगत सुधारलाई व्यवहारमा देखाउन सकिने उनको भनाइ छ ।

‘सबै समस्या संघीय सरकारबाट मात्रै समाधान हुँदैनन् । केही स्थानीय तह र केही प्रदेशबाट समाधान हुने विषय छन,‘ उनले भने,‘त्यसैले हामीले सोचिरहेको विकासको मोडल र सिस्टम निर्माणको अवधारणा ग्रासरुटसम्म पु¥याउन स्थानीय र प्रदेश तहमा पनि पुग्नुपर्छ ।’

उनले स्थानीय तहको निर्वाचनमा पार्टीले व्यक्तिविशेषभन्दा सही सोच र क्षमता भएको उम्मेदवारलाई प्राथमिकता दिने बताए । संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । बलायरका अनुसार आगामी निर्वाचनसम्म पार्टीले विगतको विरोध मात्र गर्ने नभई आगामी दशकका लागि आफ्नो स्पष्ट योजना जनतासामु प्रस्तुत गर्नुपर्नेछ ।

‘हिजो के भयो भन्ने कुरा जनतालाई थाहा छ । अब त्यो फेरि नदोहोरियोस् भन्नका लागि हामीसँग आगामी दिनको स्पष्ट योजना हुनुपर्छ,‘ उनले भने ।

युवालाई राजनीतिमा ल्याउने प्रयास

रास्वपाले युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाएको बलायरको दाबी छ । विगतमा राजनीति फोहोरी खेल भएको भन्दै युवाहरू राजनीतिबाट टाढिने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले युवाले नीति निर्माण र शासन सञ्चालनमा प्रत्यक्ष भूमिका खोज्न थालेको बताए ।

भ्रष्टाचारविरुद्धको आवाज, सुशासन र रोजगारीको मागले युवामा राजनीतिक चासो बढाएको उनको भनाइ छ । रास्वपाले युवालाई सांसद, मन्त्री तथा पार्टीका विभिन्न भूमिकामा काम गर्ने अवसर दिएर राजनीतिक सहभागिताको प्लेटफर्म उपलब्ध गराएको उनले बताए ।

पार्टीभित्रका नेतृत्वबीच आउने मतभेदलाई भने स्वाभाविक रूपमा लिनुपर्ने उनको धारणा छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचका विषयमा बाहिर आउने चर्चाबारे उनले पार्टी र सरकारको भूमिका फरक हुने बताए ।

‘पार्टी निर्माणको काम सभापतिज्यूले र सरकार सञ्चालन तथा जनताको सरकार बनाउने काम प्रधानमन्त्रीज्यूले गरिरहनुभएको छ,‘ उनले भने,‘भित्र हुने सामान्य मतभेदले ठूलो रूप नलियोस् भन्ने हाम्रो चाहना हो। नियत सफा राखेर काम गर्नुपर्छ ।’ उनका अनुसार रास्वपाले आगामी दिनमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिको सुझाव लिएर नीति तथा कार्यक्रम अघि बढाउने तयारी गरेको छ । जनताको अपेक्षा धेरै रहेकाले सरकारले पनि कानुन निर्माणदेखि विकास निर्माणसम्मका कामलाई गति दिनुपर्ने उनको भनाइ छ ।

बलायरले अन्ततः पार्टीप्रतिको विश्वास जनतालेनै तय गर्ने भएकाले रास्वपाले जनताका एजेन्डा र आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्ने बताए । ‘हामीले सही भिजनका साथ जनताको एजेन्डामा काम गर्न सक्यौँ भने विश्वास जनताले नै गर्नेछन,‘ उनले भने ।

केशव बलायर : सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डोटी