भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियमको मूल्य यथावत् राखेर जनतालाई राहत दिँदै निगम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थामा नेपाल आयल निगमले उपभोक्तालाई थप मूल्यवृद्धिको भार नपार्ने निर्णय गरेको छ। निगमले हाल कायम पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्दै उपभोक्तालाई राहत दिएको हो।

निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। त्यसको प्रत्यक्ष प्रभाव इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त हुने पेट्रोलियम पदार्थको खरिद मूल्यमा समेत परेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र सोहीअनुसार खरिद लागतमा वृद्धि भए पनि तत्काल मूल्य समायोजन नगरी साविककै मूल्य कायम गर्ने निगमको निर्णयले उपभोक्तालाई प्रत्यक्ष राहत पुगेको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा भएको निरन्तर वृद्धिअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा हालको अवस्थामा करिब १ अर्ब ९१ करोड रुपैयाँ घाटा हुने देखिएको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिक, व्यवसाय तथा समग्र अर्थतन्त्रमा परेको असरलाई समेत ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णयले कठिन परिस्थितिमा उपभोक्तामाथि थप आर्थिक भार नपार्ने नीति देखाएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य, खरिद लागत तथा निगमको वित्तीय अवस्थाबीच सन्तुलन कायम गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले तत्काल मूल्य वृद्धि नगरेको जनाएको छ। विपद्को समयमा अत्यावश्यक पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्ने निर्णयले राहत, उद्धार, यातायात तथा दैनिक उपभोगमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।