नबिल बैंकले असोज २२ मा सभा बोलायो, १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। नबिल बैंक लिमिटेडले ४२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आगामी असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कुल १५.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित गराउने भएको छ।

अधिकृत पुँजी ३४ अर्ब पुर्‍याउने प्रस्ताव

सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्तावमाथि निर्णय गर्नेछ। अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्नुपर्ने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत सभाले पारित गर्नेछ।

मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढाउने अधिकार

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

यस्तै, संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन समेत सभाबाट हुनेछ।

वार्षिक प्रतिवेदन र लेखापरीक्षक नियुक्ति

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

यसैगरी, बैंकका सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत विवरण पनि सभाबाट स्वीकृत गरिनेछ।

असोज १३ गतेसम्म कायम शेयरधनी लाभांशका लागि योग्य

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि नबिल बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज १३ गतेसम्म कायम शेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।