काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ ।
असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छन् । भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो । यस्तै संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा सीमित भएको छ ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ । सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
नेपाल बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् ।
नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । भदौमा बैंकले ४.५५ प्रतिशत ब्याज दिएको थियो । एभरेस्ट बैंकले पनि व्यक्तिगत निक्षेपको दर घटाएर ३.५० प्रतिशतमा झारेको छ । भदौमा उक्त दर ४.०५ प्रतिशत थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ३.७५ प्रतिशतमा झारेको छ । भदौमा ३.८ प्रतिशत थियो । कुमारी बैंकले पनि यस्तो ब्याजदर ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशतमा ल्याएको छ ।
संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंक, सानिमा, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतले २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।
बैंकहरूले असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा गरेको कटौतीले बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग कमजोर रहेको संकेत गर्छ । कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । यस्तो अवस्थामा निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा कमजोर भएको देखिन्छ ।
असोजमा धेरै बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन् । संस्थागत निक्षेपको दरमा भने तुलनात्मक रूपमा कम परिवर्तन भएको छ ।
बैंकहरूले हरेक महिनाको सुरुवातअघि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोजका लागि सार्वजनिक दरअनुसार व्यक्तिगत निक्षेपमा बैंकअनुसार ब्याजदरमा अन्तर देखिए पनि समग्र औसत दर भने घटेको छ ।
