विपद्मा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा रह्यो : आरेन राई

aaren rai

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवालगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताएका छन् । उनले विपद्का बेला सरकार संवेदनशील र गम्भीर भएर तत्काल परिचालन हुनुपर्नेमा जोड दिएका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले बाढीपछि आफू र आफ्नो पार्टीको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा उद्धार तथा राहतको अवस्था अवलोकन गरेको बताए । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न संघसंस्थाले गरेको प्रयासको उनले प्रशंसा गर्दै धन्यवादसमेत दिए ।

राईले विपद्को सुरुवाती अवस्थामा सरकारले उद्धार कार्यमा ढिलाइ गरेको आरोप लगाए । उनका अनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकाय, युवा, पूर्वसुरक्षाकर्मी, विज्ञ टोली तथा सहयोग गर्न चाहने संघसंस्थालाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको छैन ।

उनले बेत्रावती क्षेत्रमा विदेशी विज्ञ टोली उद्धारका लागि उपलब्ध भए पनि सम्बन्धित निकायबीचको समन्वय र अनुमति प्रक्रियाका कारण उनीहरूको उपकरण तत्काल प्रयोग गर्न कठिनाइ भएको बताए ।

‘सरकार आफैं नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्था थियो,’ राईले भने, ‘सहयोग गर्छु भनेर आउनेलाई सरकारले सहयोग गर्न दिनुपर्छ ।’

उनले विपद्का बेला ‘वान–डोर प्रणाली’का नाममा उद्धार तथा राहतमा अनावश्यक अवरोध सिर्जना गर्न नहुने बताए । संकटका बेला पार्टी, सत्ता र प्रतिपक्षभन्दा माथि उठेर सबै नागरिकले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

राईले आफूहरू पुगेका कतिपय बाढी प्रभावित क्षेत्रमा सुरुवाती दिनमा राहत सामग्रीसमेत नपुगेको बताए । बेत्रावतीबाट रसुवातर्फ पैदल जाँदा कतिपय स्थानमा मानिसहरू होल्डिङ सेन्टरमा बसे पनि पर्याप्त राहत उपलब्ध नभएको उनले दाबी गरे ।

आफूहरूले प्रभावित क्षेत्रको अवस्था सार्वजनिक गरेपछि भोलिपल्टदेखि राहत सामग्री बोकेका गाडीहरू पुगेको उनले बताए । पहुँच कठिन भएका क्षेत्रमा राहत पुर्याउन स्थानीय प्रशासनसँग समन्वय गरी आफूहरूले समेत पहल गरेको राईले जानकारी दिए ।

उनले विपद्का बेला सरकार, राजनीतिक दल, सांसद तथा नागरिक सबैले साझा जिम्मेवारीका रूपमा काम गर्नुपर्ने बताए । राईले बाढीबाट प्रभावित बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति तथा घाइतेहरूको तत्काल उपचार र व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा पुनस्र्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनले बताए । साथै प्रभावित नागरिकलाई चाँडोभन्दा चाँडो सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

‘हामी सरकारलाई सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘घर बनाउनेदेखि बाटोघाटो निर्माणसम्म आवश्यक सहयोगका लागि सरकारले सबैलाई आह्वान गर्नुपर्छ । ’

राईले बाढीबाट क्षतिग्रस्त सडक तथा बाटो तत्काल पुनर्निर्माण गर्नुपर्ने बताए ।