कामना सेवाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न प्रस्ताव पारित गरेको छ।

सभाले साधारण सेयरधनीका लागि चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

त्यस्तै, अग्राधिकार सेयरधनीका लागि अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ सालको असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

वित्तीय विवरण सर्वसम्मत पारित

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षित वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। सभाबाट बैंकको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूसहितका वित्तीय विवरणहरू पारित भएका छन्।

त्यस्तै, आगामी कार्यकालका लागि एनबीएसएम एन्ड एसोसिएट्सलाई बैंकको बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।

सेयरधनीका जिज्ञासालाई व्यवस्थापनको जवाफ

साधारण सभाका क्रममा सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा प्रश्नको बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जवाफ दिएका थिए।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले विगतदेखि नै दोहोरो अंकको लाभांश वितरण गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई दिगो र सबल बनाउने दिशामा व्यवस्थापन प्रतिबद्ध रहेको बताए।

बैंकले संस्थागत स्थायित्व, दिगोपन र आगामी दिनको व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ।