मौरीको ‘गोप्य जीपीएस’: किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?

mauri मौरी

काठमाडौं । एउटा मौरी घारबाट निस्कन्छ । केही क्षणमै फूलसम्म पुग्छ । पराग लिएर फर्किन्छ । फेरि उड्छ । फेरि फर्किन्छ । बाहिरबाट हेर्दा यो सामान्य चक्रजस्तो लाग्छ । तर बैज्ञानिकहरुले आकाशबाट ड्रोनले उसको यात्रा पछ्याउँदा अर्कै कथा देखियो–ऊ हरेक पटक लगभग उही बाटोबाट उडिरहेको थियो । कतिपय अवस्थामा अघिल्लो यात्राबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा उडेको पाइयो ।

जर्मनीको फ्राइबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको नयाँ अध्ययनले मौरीको दिशाबोधबारे लामो समयदेखि रहेको बुझाइलाई नयाँ मोड दिएको छ । उनीहरू केवल घारको दिशा सम्झने कीरा होइनन, बरु आफूले रोजेको ‘स्थायी मार्ग’ बनाउने सटीक यात्रु रहेछन् ।

हामी प्रायः मानिसलाई मात्रै बाटो सम्झने जीव ठान्छौं । तर सानो मस्तिष्क भएको मौरीले पनि वातावरणका संकेतलाई सम्झेर आफ्नो यात्रा दोहो¥याउन सक्छ भन्ने तथ्यले वैज्ञानिकहरूलाई समेत अचम्मित बनाएको छ । अनुसन्धानकर्ताले प्रयोगशालाको कृत्रिम वातावरण होइन, वास्तविक खेतबारी रोजे । घारदेखि करिब १२० मिटर टाढा मौरीका लागि खाद्य स्रोत राखियो । त्यसपछि मौरीमा सानो परावर्तक चिन्ह जडान गरियो ।

ड्रोनमा रहेको ‘फास्ट लक–अन ट्रयाकिङ’ प्रणालीले उडिरहेको मौरीलाई केही मिलिसेकेन्डमै पहिचान गरेर त्रि–आयामिक मार्ग रेकर्ड ग¥यो । यो प्रविधिले पहिलो पटक मौरीको प्राकृतिक उडानलाई यति सूक्ष्म रूपमा पछ्याउन सम्भव बनायो । अनुसन्धान टोलीले जर्मनीको काइजरस्टुल क्षेत्रमा २५५ वटा उडान मार्ग विश्लेषण गरेको थियो । त्यसपछि एउटा रोचक ढाँचा देखियो—हरेक मौरीले आफ्नो छुट्टै मार्ग बनाएको थियो । अझ कतिपय मौरीले त अघिल्लो उडानको बाटोबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा फेरि उडेको देखियो ।

अनुसन्धानका प्रमुख डा. एन्ड्र्यु स्ट्र भन्छन,‘हामीले हेर्दा प्रत्येक मौरीको आफ्नै व्यक्तित्व भएको जस्तो देखिन्छ । अध्ययन क्षेत्रमा एउटा ठूलो रूख थियो । त्यही रूखले मौरीको यात्रामा कम्पासजस्तै काम गरेको देखियो ।’

उनका अनुसार रूख वा झाडी नजिक पुग्दा मौरीको उडान सबैभन्दा स्थिर देखियो । तर जब उनीहरू मकैबारीमाथि उड्थे, मार्गमा केही बढी भिन्नता देखिन्थ्यो । किनभने मकैबारीको दृश्य धेरै एकनासे हुन्छ । वरिपरि छुट्याउन सजिलो संकेत कम हुन्छ । यसले मौरीले वरिपरिका दृश्य संकेतलाई ‘मानसिक नक्सा’को रूपमा प्रयोग गर्ने सम्भावना बलियो बनाएको छ ।

मौरीको चर्चित ‘वागल डान्स’ धेरैलाई परिचित छ । फूलको स्रोत भेट्टाएपछि मौरीले घारमा फर्केर विशेष नृत्य गर्छ र अरू मौरीलाई दिशा बताउँछ । तर त्यो सूचना पूर्ण रूपमा सटीक हुँदैन । करिब १०० मिटर टाढाको खाद्य स्रोतका लागि त्यसमा करिब ३० डिग्रीसम्म दिशागत फरक हुन सक्छ । तर, नयाँ अध्ययनले भने त्यो त्रुटि मौरीको दिशाबोध कमजोर भएकाले होइन भन्ने देखाएको छ ।

जब मौरी आफैं परिचित ठाउँतर्फ उड्छ, त्यसको विचलन केही डिग्रीभन्दा बढी हुँदैन । अर्थात् मौरीको वास्तविक नेभिगेसन क्षमता उसको सामूहिक सञ्चारभन्दा अझ सटीक हुन सक्छ ।

मौरीको यस्तो क्षमताले केवल जीवविज्ञानलाई मात्र होइन, प्रविधिलाई पनि प्रश्न सोधेको छ । जीपीएस कमजोर हुने जंगल, कृषि क्षेत्र वा विपद्पछि भूगोल बदलिएका स्थानमा दृश्य संकेतका आधारमा बाटो पहिचान गर्ने प्रणाली विकास गर्न मौरीबाट प्रेरणा लिन सकिने अनुसन्धानकर्ताको विश्वास छ ।

कम ऊर्जा खर्च गरेर जटिल वातावरणमा सुरक्षित रूपमा यात्रा गर्ने मौरीको तरिकाले भविष्यका ड्रोन, उद्धार रोबोट र स्वचालित सवारीलाई नयाँ दिशा दिन सक्छ । सायद त्यसैले एउटा सानो मौरीलाई अब केवल पराग बोक्ने कीराको रूपमा हेर्न पुग्दैन । उसले हरेक उडानमा प्रकृतिले करोडौं वर्ष लगाएर बनाएको एउटा अदृश्य ‘जीपीएस’ प्रयोग गरिरहेको हुन सक्छ । जहाँ एउटा रूख नक्सा बन्छ, एउटा झाडी संकेत बन्छ र केही सेन्टिमिटरको फरक पनि उसको स्मृतिमा सुरक्षित रहन्छ । एएनआई