नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले  सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो वत्ति बालिएको छ ,भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

सप्तकोशी नदीमा पानीको बहाव बढेका बेलामा दहतरबहतरबाट आउने काठ दाउरा झिक्नका लागि गएका बेलामा जोखिम हुन सक्ने बिषयलाई मध्यनजर गर्दैै नजानका लागि सर्वसधारणलाई आग्रह गरिएको प्रजिअ अर्यालले बताए ।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।