लाज, प्रजनन अंग र विद्रोह-योनिद्वार उद्योग खडा

हजारौँ वर्षदेखि मानिसहरू महिलाको बाह्य प्रजनन अङ्ग अर्थात् योनिद्वार -भल्भा को बारेमा कुरा गर्दै आएका छन्।

सुरुमा शरीरको यस हिस्सालाई प्रजनन क्षमताको प्रतीक मानिन्थ्यो, तर पछि यसलाई लाजमर्दो विषय ठानिन थालियो र लुकाउनुपर्ने आवश्यकता महसुस गरियो।

आज योनिद्वारको सेरोफेरोमा एउटा सिङ्गै उद्योग खडा भएको छ, जसले यसलाई जवान बनाउनुका साथै विभिन्न प्रकारका कस्मेटिक तथा शल्यक्रिया (सर्जिकल) प्रक्रियाहरूको प्रस्ताव राख्छ।

आजभोलि कलाकारहरू शरीरको यो अङ्गलाई आफ्नो कला ९रचना० मा देखाउँछन् भने अभियन्ताहरू यसलाई विरोधको प्रतीकका रूपमा प्रयोग गर्छन्।

अर्कोतर्फ, चिकित्सकहरू महिलाको प्रजनन अङ्गको सामान्य शारीरिक बनावट एक व्यक्तिबाट अर्को व्यक्तिमा निकै फरक हुन सक्छ भन्ने कुरा बुझाउने प्रयास गर्छन्।

मानव शरीरको यो अङ्ग प्रजनन क्षमताको प्रतीकबाट लाजको विषय र सुन्दरताको सङ्केतबाट राजनीतिक प्रतीक कसरी बन्न पुग्यो?

फ्रान्सेली पत्रिका ‘ले मोन्डे’ ले यो इतिहास बुझ्ने प्रयास गरेको छ भने बेलायती पत्रिका ‘द गार्डियन’ ले पोर्नोग्राफी र सामाजिक सञ्जालको प्रभावसँग जोडिएका तथ्याङ्कहरू प्रस्तुत गरेको छ।

यी दुवैले महिलाको प्रजनन अङ्गलाई लिएर हुने बहस शरीरमा मात्र सीमित छैन भन्ने देखाउँछन्। यो सत्ता, लाज, सुन्दरता र आफ्नो शरीरको बारेमा आफैँ निर्णय लिने अधिकारसँग पनि जोडिएको छ।

प्रजनन क्षमताको प्रतीक
आज यो कुराको कल्पना गर्न गाह्रो छ, कुनै समय योनि वा यसको बाह्य भागलाई विना कुनै हिच्किचाहट वा लुकाउने प्रयासविना नै कलामा खुलारूपले देखाइन्थ्यो।

हजारौँ वर्षपहिले मानिसहरू महिलाको शरीरको चित्र र मूर्तिहरू बनाउँथे, जसमा प्रजनन अङ्गलाई विशेष जोड दिइन्थ्यो।

यसको प्रमाण फ्रान्सको ‘ला फेरासी’ नामक प्राचीन स्थल र शोभे गुफामा भेटिएका छन्, जहाँ विश्वकै केही पुराना गुफा चित्रकला संरक्षित छन्।

अर्को एउटा चाखलाग्दो खोज पनि भएको छ। उदाहरणका लागि, मोनपाजियरको सानो भेनस मूर्तिमा महिलाको गोप्य अङ्गलाई जानीजानी ठूलो देखाइएको छ। प्राचीन मानिसहरू सायद महिलाको बच्चा जन्माउने क्षमतामा जोड दिन चाहन्थे भन्ने मान्यता छ।

प्राचीन मेसोपोटामियामा पनि महिलाको कामुकतालाई लाजको विषय मानिँदैनथ्यो। एउटा प्राचीन ग्रन्थमा देवी इश्तर आफूले छानेको व्यक्तिलाई भन्छिन्, ‘मेरो प्रिय, मेरो योनिमा बीज रोप।’

तर समयसँगै सबै कुरा परिवर्तन भयो।

प्राचीन इतिहासकार क्रिस्चियन-जर्ज श्वेन्ट्जेलले ले मोन्डेसँग कुरा गर्दै प्राचीन ग्रीस र त्यसपछि रोममा एउटा ठूलो परिवर्तन सुरु भएको बताए। त्यतिबेला महिलाको कामुकतालाई खतरनाक कुराको रूपमा हेर्न थालिएको थियो।

इतिहासकार भन्छन्, ‘ग्रीसमा र पछि रोममा योनिको बाह्य भागलाई तिरस्कारको वस्तु मान्न थालियो।’

स्वतन्त्र इच्छा भएकी महिलालाई बिस्तारै यस्तो व्यक्तित्वको रूपमा हेर्न थालियो, जसलाई रोक्न र नियन्त्रण गर्न जरुरी थियो।

र, यो विचार लामो समयसम्म कायमै रह्यो।

मनोविश्लेषक सारा पियाजा महिलाहरूको ‘गोप्य अङ्गको डर’ को कुरा गर्छिन्। उनका अनुसार, यो डर प्राचीन कालदेखि आजसम्म महिलाहरूको चित्रणको सम्पूर्ण इतिहासमा रहिरहेको छ।

सुन्दरताको पछाडि लुकेको नियन्त्रण
महिलाको प्रजनन अङ्गको स्वरूप बदल्ने इच्छा आधुनिक युगको मात्र उपज होइन।

विभिन्न संस्कृतिहरूमा यस्ता प्रथाहरू रहेका छन्, जसमा प्रजनन अङ्गका केही भागहरूलाई हटाइन्थ्यो वा तिनको स्वरूपमा परिवर्तन गरिन्थ्यो।

आधुनिक कस्मेटिक सर्जरी आउनुभन्दा पहिले नै युरोपेली चिकित्सामा सानो लेबिया वा योनिको बाह्य भागलाई सानो बनाउन गरिने शल्यक्रिया प्रक्रियाहरूको वर्णन पाइन्छ।

आज महिलाहरू आफ्नो शरीरलाई के गर्ने भन्ने निर्णय लिन स्वतन्त्र छन्।

तर यसबाट एउटा प्रश्न उब्जन्छ, यदि समाजले अझै पनि महिलाहरूलाई आदर्श महिलाको शरीर कस्तो देखिनुपर्छ भनेर सिकाइरहन्छ भने, के यो स्वतन्त्रता साँच्चै नै पूर्ण रूपमा स्वतन्त्र छ त?

यसको चिकित्सकीय जवाफ यो हो, महिलाहरूको बाह्य प्रजनन अङ्गको कुनै एउटा निश्चित र ‘सही’ आकार वा स्वरूप हुँदैन।

यौनविज्ञ (सेक्सोलोजिस्ट) जोएल मिग्नो कुनै पनि मेडिकल मापदण्डले महिलाको प्रजनन अङ्गको स्वरूप कस्तो हुनुपर्छ भनेर तय गर्न सक्दैन भन्ने कुरामा जोड दिन्छन्। पुरुषको शरीरमा जस्तै महिलाको शरीरमा पनि धेरै भिन्नता हुन्छ।

यति हुँदाहुँदै पनि, एउटी महिलाले आफ्नो बिलकुल सामान्य शरीर देखेर त्यसमा केही गडबडी छ भन्ने सोच्न सक्छिन्।

सुन्दरताको परिभाषा कसले तय गर्‍यो?
विगत केही दशकहरूमा पोर्नोग्राफी उद्योग, सामाजिक सञ्जाल, कस्मेटिक प्रक्रिया र शल्यक्रियाका विज्ञापनहरूको साथसाथै गुप्ताङ्गका रौँ -प्युबिक हेयरलाई स्थायी रूपमा हटाउने चलनले यो दबाबलाई झनै बढाएको छ।

बिस्तारै ‘आदर्श महिला’ को एउटा सीमित छवि निर्माण गरियो। यस्ती महिला, जसको छाला कोमल होस्, शरीरमा रौँ नहोस्, कुनै चाउरी नदेखियोस्, छाला लचिलो होस्, रङ्ग गुलाबी होस् र कुनै गन्ध नहोस्।

स्त्रीरोग विशेषज्ञ सोफी बर्भिल यसलाई सन् २००० को दशकमा देखा परेको एक प्रकारको गोल्ड स्ट्यान्डर्ड ९सुनौलो मापदण्ड० का रूपमा बताउँछिन्।

द गार्डियनका अनुसार समस्या के छ भने, युवाहरूले महिलाको गोप्य अङ्गको सामान्य स्वरूप कति धेरै फरक हुन सक्छ भन्ने कुरा सजिलै देख्न पाउँदैनन्।

सन् २०२४ मा उक्त पत्रिकाले अस्ट्रेलियामा गरिएको एउटा अध्ययनको नतिजालाई उद्धृत गरेको थियो।

उक्त अध्ययनमा १८ देखि २४ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाहरू आफ्नो लेबिया वा योनिको बाह्य भागको स्वरूपलाई लिएर चिन्तित वा असहज महसुस गर्थे भनी बताइएको थियो। तीमध्ये आधा महिलाहरू शल्यक्रिया गराउने विचार गरिरहेका थिए।

यद्यपि, आफ्नो शरीरमा परिवर्तन चाहने सबै महिलाहरू केवल विज्ञापन, सामाजिक सञ्जाल वा पोर्नोग्राफीका सिकार मात्र भने होइनन्।

स्त्रीरोग विशेषज्ञ सोफी बर्भिलले आफ्ना केही महिला बिरामीहरू धेरै वर्षदेखि आफ्नो गोप्य अङ्गको स्वरूपलाई लिएर असहज रहेको ले मोन्डेलाई बताइन्।

उनका अनुसार, कतिपयलाई आफ्नो पार्टनरको अगाडि लुगा फुकाल्न लाज लाग्थ्यो वा उनीहरू यौन सम्बन्ध राख्नबाट बच्ने गर्थे।

शल्यक्रियापछि केही महिलाहरूले मानसिक रूपमा राम्रो महसुस गरेको र उनीहरूको यौन जीवनमा पनि सुधार आएको उनले बताइन्।

त्यसैले यो विषय शल्यक्रिया गराउने वा नगराउने भन्ने मात्र होइन। महत्त्वपूर्ण कुरा यो हो, महिलाहरूले सम्भावित जोखिम र दुष्प्रभावहरू बुझ्छन् वा बुझ्दैनन् अनि यो निर्णय वास्तवमै उनीहरूकै हो वा होइन।

अमेरिकन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनेकोलोजिस्ट्स (एसीओजी) ले इन्टरनेट र पोर्नोग्राफीलाई लिएर चेतावनी दिन्छ। यिनै कारणले कुनै व्यक्तिलाई आफ्नो शरीरको प्राकृतिक स्वरूप स्वीकार्य छैन भन्ने लाग्न सक्छ।

यसका अलावा, यस क्षेत्रमा गरिने धेरै कस्मेटिक प्रक्रियाहरूको सुरक्षा र प्रभावका विषयमा उपलब्ध प्रमाणहरू अझै पनि पर्याप्त छैनन्।

लाजदेखि विरोध र जानकारीसम्म
यस कथाले एउटा अप्रत्याशित मोड लिन्छ।

जुन शरीरलाई लामो समयसम्म लुकाउन बाध्य पारिएको थियो, त्यही शरीर सार्वजनिक अभिव्यक्तिको माध्यम बन्यो।

सन् १९६९ मा अस्ट्रियाकी कलाकार वाली एक्सपोर्ट एउटा उत्तेजक पोसाक लगाएर म्युनिखको एउटा सिनेमाघरमा पुगिन्।

जानीजानी चालिएको यस कदमको उद्देश्य बहसलाई जन्म दिनु र पुरुषको नजरले महिलाको शरीरलाई कसरी एउटा वस्तुको रूपमा प्रस्तुत गर्छ भन्ने प्रश्न उठाउनु थियो।

यसरी एक्सपोर्टले दर्शकहरूलाई टिभीमा केवल एउटा कामुक तस्बिर हेर्नुको सट्टा आफ्नै अगाडि एउटी वास्तविक महिलालाई हेर्ने मौका दिइन्, जससँग उनीहरू सिधै कुराकानी गर्न सक्थे।

१९७० को दशकमा नारीवादी कलाकारहरूले महिलाको गोप्य अङ्गका तस्बिर र तिनको स्वरूपलाई आफ्नो काममा खुलेर प्रयोग गर्न थाले।

यसको माध्यमबाट महिला हुनु, महिलाको शरीर र आफ्नो शरीरको बारेमा आफैँ निर्णय लिने उनीहरूको अधिकार जस्ता मुद्दाहरू उठाइयो।

जुडी सिकागो यस आन्दोलनसँग जोडिएका प्रमुख कलाकारहरूमध्ये एक हुन्।

इतिहासकार तथा कला समीक्षक सिन्डी नेम्सरले पनि यो आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। उनले नारीवादी कलामाथि लेखिन् र यसमा संलग्न महिला कलाकारहरूलाई समर्थन गरिन्।

समय बित्दै जाँदा यो मुद्दा कलाको सीमाभन्दा बाहिर पुग्यो।

सन् २०१९ मा कलाकार डेबोरा डी रोबर्टिस युरोपेली संसदको अगाडि नग्न भएर देखा परिन्। सत्ताका पदहरूमा महिलाको न्यून उपस्थितिको विरोधमा उनले यस्तो गरेकी थिइन्।

यसै अवधिमा लाजलाई जानकारीमा बदल्ने उद्देश्यले विभिन्न परियोजनाहरू पनि सुरु भए।

सन् २०११ मा कलाकार जेमी म्याकार्टनीले ुद ग्रेट वाल अफ भजाइनाु नामको कलाकृति बनाइन्। महिला शरीरमा रहेको विविधतालाई अगाडि ल्याउन यसमा ४०० महिलाहरूको प्रजनन अङ्गलाई देखाइएको थियो।

सन् २०१६ मा भल्भा ग्यालरीको सुरुवात भयो। यो एउटा अनलाइन प्रोजेक्ट हो, जसमा महिलाको प्रजनन अङ्गको स्वरूपमा रहेको विविधतालाई देखाइएको छ।

अनि सन् २०१९ मा लन्डनमा भजाइना म्युजियम ९योनि सङ्ग्रहालय० खोलियो। यस सङ्ग्रहालयको उद्देश्य मानिसहरूलाई महिला शरीरको शारीरिक संरचना र स्वास्थ्यका बारेमा जानकारी दिनु हो। साथै, समाजले महिलाको शरीरलाई कुन दृष्टिकोणले हेर्छ भनेर बुझाउनु पनि हो।

आज योनि फेरि एकपटक सार्वजनिक रूपमा देखाइँदैछ, तर यस पटक भने कारण फरक छ।

यसलाई स्वतन्त्रताको अधिकारका लागि आवाज उठाउने माध्यमका रूपमा देखाइँदैछ।

लाजसँग लड्नका लागि यसको अध्ययन गरिँदैछ। कला क्षेत्रमा यसलाई सत्ता र हरेक व्यक्तिको आफ्नो शरीरको बारेमा आफैँ निर्णय लिने अधिकारलाई अगाडि राख्नका लागि प्रस्तुत गरिँदैछ।

अब यो प्रश्न रहेन, ‘योनिको बाह्य भाग कस्तो देखिनुपर्छ?

यसका फरक-फरक आकार र स्वरूप हुन सक्छन्। र, यो पूर्ण रूपमा सामान्य कुरा हो।

 

 

 

 

(बीबीसीका लागि कलेक्टिभ न्युजरुमको तर्फबाट प्रकाशित, रातोपाटीबाट साभार)