चोलेन्द्र प्रकरण- मानव अधिकार आयोगद्धारा एसएसपी खड्कासँग बयान

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ।

गत शनिबार पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अस्ति आइतबार अनुगमनका लागि पुगेको आफ्नो टोलीलाई भेट्न रोक लगाइएको भन्दै मानव अधिकार आयोगले एसएसपी खडकालाई बयानका लागि बोलाएको थियो।

आज मंगलबार आयोगको कार्यालयमा पुगेका एसएसपी खड्का बयान दिएर फर्किसकेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएकाले एसएसपी खड्कासँग स्पष्टिकरण

आयोगले प्रहरीले संवैधानिक तथा कानुनी अधिकारको सम्मान नगरेको दाबी गरेको छ।्

संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारसँग माग गरेको थियो।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकताअनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ।

यस्तो संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट व्यवहार गरेको आयोगको आरोप छ।