महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याउने भएको छ। योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।

बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९९९ रुपैयाँको खरिदमा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन्। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।

यो योजना प्रत्येक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा र ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा उपलब्ध हुने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।