धनगढीमा आईबीएम टेकएक्स कार्यक्रम सम्पन्न, डिजिटल रूपान्तरणमा जोड

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रविधि क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउने उद्देश्यसहित आईबीएम टेकएक्स कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। दक्षिण एसियाली क्षेत्रको अग्रणी साइबर सुरक्षा तथा प्रविधि कम्पनीको सहकार्यमा अक्टोबर १ मा आयोजित कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, क्यान महासंघका पदाधिकारी, शिक्षाविद् तथा साइबर सुरक्षा विशेषज्ञहरूको सहभागिता रहेको थियो।

मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा डिजिटल सुशासन, उद्यमस्तरीय स्वचालन, साइबर सुरक्षा र प्राविधिक सीप विकासमा जोड दिइयो।

कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष हर्क सेटी, केन्द्रीय सदस्य ओमकार श्रेष्ठ लगायतको सहभागिता थियो।

कार्यक्रमले सुदूरपश्चिममा स्थानीय प्राविधिक जनशक्तिको क्षमता विकास गर्दै डिजिटल पूर्वाधारलाई सुरक्षित र आधुनिक बनाउन सरकार, निजी क्षेत्र तथा शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।