नेपाली राष्ट्रिय फुटबल टोलीले यो वर्षको साफ च्याम्पियनसिप गुमाउने पक्का भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ -साफले नेपाललाई प्रतियोगितामा सहभागी हुन दिएको सेप्टेम्बर ३० सम्मको समयसीमा सकिएसँगै नेपालको सहभागिता नहुने निश्चित भएको छ।
बंगलादेशमा आगामी नोभेम्बर ५ देखि १७ सम्म हुने १५औं साफ च्याम्पियनसिपको समूह विभाजन गर्दा नेपाललाई सहभागी गराइएको थिएन।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन फुकुवा भए नेपाललाई समूह ‘ए’ मा समावेश गर्ने विकल्प साफले खुला राखेको थियो।
तर बुधबार सम्म पनि एन्फामाथिको फिफा निलम्बन फुकुवा भएन। त्यससँगै साफ च्याम्पियनसिपमा नेपालको सहभागिताको सम्भावना पनि समाप्त भएको हो।
फिफाले गत जुन २४ मा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् -राखेपको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कारबाही गरेको हो।
