कर्णालीमा हुँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ।

कर्णालीमा प्रतियोगिता आयोजना गर्ने सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद आयोजना गर्ने व्यवस्था भएअनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिताको जिम्मेवारी दिइएको हो।

प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै मूल आयोजक समितिले प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिएको छ।

निर्णयअनुसार दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ।

त्यस्तै, नेपाल सरकारबाट स्वीकृत दसौँ राष्ट्रिय खेलकुदको बजेट तथा खर्चसम्बन्धी नर्म्सको अधीनमा रही प्रतियोगिताको खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ। पहिलो पटक आयोजना हुने प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्यसमेत अघि बढाइने भएको छ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्दै दशौं राष्ट्रिय खेलकुदको उत्सव आइतबारबाट सुरु भएको बताए।

‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गरे। उनले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि तीन तहका सरकार, सम्पूर्ण सरोकारवाला सबै मिलेर गर्नुपर्नेमा उनले जोड दिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले मुल आयोजक समितिको बैठकले १० औं राष्ट्रिय खेलकुद हुन्छ भन्ने प्रत्याभूत भएको बताए।

खेलकुद आयोजनापछि कर्णाली प्रदेश सक्षम छ भन्ने संदेश जाने उनको भनाइ थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबैखाले तयारीमा जुटेको जानकारी दिए।

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ। त्यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीए) अवधारणा अवलम्बन गर्दै सम्भावित प्रायोजकसँग समझदारीपत्र गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विभिन्न विषयगत उपसमिति गठन गरिनेछ।

साथै, दशौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ।

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदलाई खेल प्रतिभा पहिचान, उत्पादन र नेपाली खेलकुदको समग्र विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।