गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिबारे आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताए ।

पदले सूचनामा पहुँच दिने भएपनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने गुरुङले उल्लेख गरे । गृह मन्त्रालय तथा मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले बताए ।

गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको छु । राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ।’

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार