आएपछि आत्म विनाश काल मनुष्यको हुन्छ विचित्र हाल ।
विग्रिन्छ बुद्धि कम हुन्छ जोर आपतमै चल्छ विरोध घोर ।।
असामाजिक बन्दै गैरहेको सामाजिक सञ्जाल
उक्त पंक्ति महाभारत युद्धपूर्व अर्थात युद्ध अवश्यंभावी भइसकेको तत्कालीन समयमा रचिएको हो । आज हाम्रो समाजिक परिस्थिति हेर्दा हामी पनि द्वन्द्वतर्फ उन्मुख भइरहेको हो कि भन्ने आभाष हुन्छ । जुन कुरा सामाजिक भनिने असामाजिक सञ्जाल हेर्दा स्पष्ट हुन्छ ।
नेपाली समाज शान्तिपूर्ण तरिकाले मिलेर बसेको समाज हो । हिमाल, पहाड तराईका विविध धर्म, जातजातिहरु र भाषाभाषीहरुको एउटा साझा घरको रुपमा रहेकोमा केही समय यता विगतको सौहाद्र्रता भाइचारा र एकअर्का प्रतिको ममता हराउँदै गएको छ । अझ भनौं एक अर्काप्रति घृणाको आगो ओकल्ने प्रतिस्पर्धा बढेको छ ।
एकले अर्कालाई धर्म जातजातिका आधारमा हेप्ने, खुइल्याउने, अर्काको आस्थामा प्रहार गर्ने, आफू मात्र मूलबासी अरुलाई शरणार्थी भन्नेलगायतका कुराहरु सञ्जालमा छरप्रष्ट भएका छन् । स्वस्थ्य र स्वच्छ समाजका लागि यस्ता क्रियाकलाप साँच्चै विषाक्त छन् ।
यस्ता कार्यले समाजलाई विभाजित गराउने र घृणा बढाउने मात्रै हो । त्यसैले यस्ता कु–प्रवृत्तिलाई छाडा छाड्ने र बैलैमा नरोक्ने हो भने सामाजिक द्वन्द्व अवश्यंभावी छ ।
हुँदाहुँदा अब त मन्दिर, मूर्ति र राष्ट्रिय झण्डाका बारेमा पनि विवाद उठ्न थालेका छन, यो शुभ सङ्केत होइन । यदि देश बचाउने र नेपाली जाती सुखी र खुशी रहने हो भने लोकतन्त्र र मानव अधिकारको आवरणमा छाडाबादलाई मौलाउन दिनु हुँदैन ।
यस विषयमा सरकार पनि गम्भीर बन्नैपर्छ । सामाजिक सञ्जालमा व्यक्त कुराहरुले समाजलाई जोड्ने हो भाँड्ने र तोड्ने होइन । तर विडम्बना उच्च पदमा बसेका व्यक्तिहरु नै कुनै जात विशेषलाई किटानी गरेर, यो देश निर्माणमा तिनीहरुको योगदान नरहेको र देशभरी जासुस गर्न छाडिएकाहरु हुन भन्ने अभिव्यक्ति आउनुले सकारात्मक सन्देश दिएन ।
अत्याधिक सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत स्वार्थका कारण आजकाल मानिसहरूमा धैर्यता घट्दै गएको, विवेक हराउँदै गएको, मानवीय मूल्य र मान्यता स्खलित हुँदै गएको छ । एकअर्काप्रति रिस, राग, द्वेष र वैमनस्यता बढेको छ । एकअर्काप्रतिको रिसको परिणाम खरानी नै हो, कसैले जित हासिल गरुँला भनी नसोचे हुन्छ । यस्तो अवस्थामा जित त नचाउने मदारीको हुन्छ यसमा शंका छैन ।
अझैपनि विग्रिसकेको छैन, निराश हुनुपर्ने अवस्था छैन । तर सचेत भई सकारात्मक कदम चाल्न ढिलाई गर्नु हुँदैन । ठूला परिवर्तनहरू सधैँ साना–साना प्रयास र आफ्नै घर–आँगन र आफूबाट नै सुरु हुन्छन ।
नागरिकहरु सचेत हुने हो भने त्यस्ता समाज भाँडाहरुलाई परास्त गर्न नसकिने पनि होइन त्यसका लागि नागरिक स्वयंम इमान्दार हुनुपर्छ ।
१. सकारात्मक कर्मको सुरुवात आफंैबाट गरौँ : रिस र आवेगलाई नियन्त्रणमा राखौं, अरूलाई बदल्न कठिन हुन्छ, तर आफ्नो व्यवहारलाई हामी आफैंले नियन्त्रण गर्न सक्यौं भने अरुको निम्ति उदाहरण बन्नसक्छ । रिस उठ्दा तुरुन्तै प्रतिक्रिया नजनाई केही समय धैर्यधारण गर्ने बानी बसालौँ । मिठो र नम्र बोली बोलौं बोलीमा मधुरता र व्यवहारमा नम्रता ल्याउँदा आधा समस्या त्यसै समाधान हुन्छन ।
२. परिवार र घरबाट संस्कारको सुरुवात : छोराछोरीलाई नैतिक शिक्षा दिउँ, बालबालिकालाई सानैदेखि अरूको सम्मान गर्ने, सहयोगी भावना राख्ने र भाइचाराको महत्व बुझाउने गरौं । परिवारका सदस्यहरूबिच दैनिक केही समय बसेर मनका भावनाहरु साटासाट गर्ने र सद्भाव बढाउने वातावरण बनाउनु राम्रो हुन्छ ।
३. सामाजिक एकता र संवाद : समाजमा सकारात्मक अन्तरक्रिया गर्ने, एकापसमा छलफल र सहकार्य गर्ने, छरछिमेकमा सानातिना असमझदारी हुँदा गालीगलौज वा विवाद गर्नुको साटो आपसमा बसेर शान्तिपूर्ण तरिकाले समस्या समाधान खोज्ने हो भने विवाद कम भएर जानेछ । गाउँ–टोलको सरसफाइ, धार्मिक÷सांस्कृतिक उत्सव, वा सामाजिक सेवाका काममा सबै उमेर र समुदायका मानिसहरू मिलेर सहभागी हुने जसले एकता र भाइचारा बढाउनुका साथै समाजलाई सुन्दर फूलबारी बनाउनेछ ।
४. सामाजिक सञ्जालको सन्तुलित प्रयोग : झूठा अफवाह र नकारात्मकताबाट बच्दै इन्टरनेट र सामाजिक सञ्जालमा देखिने भ्रामक, घृणास्पद वा उत्तेजक खबरहरूलाई लाइक कमेन्ट सेयर नगरौँ, सदुपयोग गरौं । सञ्जाललाई समाज जोड्ने माध्यम बनाऔँ, तोड्ने होइन ।
५. आध्यात्मिक र नैतिक चेतनाको विकास : सेवा र समभावको बृद्धि गर्दै ‘वसुधैव कुटुम्बकम’ (संसार नै एक परिवार हो) र ‘परोपकाराय पुण्याय, पापाय परपीडनम’ जस्ता सनातन मूल्य–मान्यताहरूलाई जीवनमा उतारौँ । नियमित रुपमा आ–आफ्नो धर्म संस्कृति प्रचलन अनुसारका भजन–कीर्तन, ध्यान, वा सत्संग गरौं जसले मनमा शान्ति र अरूप्रति दयाभाव जगाउँन उत्प्रेरणा प्रदान गर्छ ।
६. युवा पुस्तालाई सकारात्मक बाटोमा डोहोर्याउन ः युवाहरूलाई अनेक थरीका कुलत वा अनावश्यक विवादबाट जोगाउन खेलकुद, साहित्य, समाजसेवा र सीपमूलक कार्यहरूमा संलग्न गराउने । झै–झगडा र अबाञ्छित क्रियाकलापतर्फ सकेसम्म अग्रसर हुने मौकै नदिने आदि ।
यतिकार्य गर्नसके समाजमा हुने असामाजिक कार्य स्वतः कम हुनेमा आशा राख्न सकिन्छ । विगार्न र भत्काउन जति सजिलो हुन्छ त्यसको पुनः निर्माण त्यत्तिकै कठिन हुन्छ । त्यसैले हामीले विग्रन र भत्किन नदिनमै दत्तचित्त रहनुपर्छ ।
हामी प्रत्येक व्यक्तिले ‘म समाजको एक जिम्मेवार नागरिक हुँ र मबाट सकारात्मक परिवर्तन सुरु गर्नु पर्छ’ भन्ने अठोट लियौँ भने हराउँदै गएको हाम्रो आपसी भाइचारा र स्नेह पुनः फर्किएर आउँछ नै ।
यसका लागि दृढता र आत्म विश्वास आवस्यक हुन्छ । मित्र दृष्टिले संसारलाई हेर्यौं भने स्वाभाविक रुपमा मित्रता नै बढ्ने छ । अन्त्यमा बेदको यो मन्त्र हाम्रो वर्तमान समाजको लागि अत्यन्तै सान्दर्भिक छ, जुन यस प्रकार छ ।
ॐ सह नाववतु सह नौ भुनक्तु सह वीर्यं करवावहै तेजस्वि नावधीतमस्तु मा विद्विषावहै । ॐ शान्ति: शान्ति: शान्ति:।।