फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानी कम्पनीलाई फिफाको व्यावसायिक अधिकार दिने प्रस्तावका विषयमा माफी मागेका छन्।

तर, प्रस्तावसम्बन्धी सबै कागजात सार्वजनिक गरी उठेका प्रश्नको जवाफ नदिए अध्यक्षका रूपमा उनको नेतृत्वमाथि प्रश्न उठ्ने फिफाकी उपाध्यक्ष डेबी हेविटले बताएकी छन्।

फिफाको गोप्य फिफा फर्वार्ड इन्टरप्राइज -एफएफई प्रस्ताव सार्वजनिक भएपछि बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा पहिलो पटक फिफा काउन्सिलको बैठक बसेको थियो।

उक्त प्रस्तावमा फिफाको केही व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई दिने योजना थियो। तर, इन्फान्टिनोले केही दिनमै प्रस्ताव फिर्ता लिएका थिए।

साढे तीन घण्टा चलेको बैठकमा एफएफईसँगै अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्ड प्रतिबन्ध निलम्बन गरिएको विषय, फिफा शान्ति पुरस्कार र सदस्य राष्ट्रका फुटबल संघलाई दिइने आर्थिक सहयोगबारे पनि प्रश्न उठेको थियो।

बैठकपछि फिफाले इन्फान्टिनोको भिडियो वक्तव्य सार्वजनिक गरेको थियो। उनले सञ्चारमाध्यमसँग कुरा गर्न र प्रश्नको जवाफ दिन भने अस्वीकार गरेका थिए।

इन्फान्टिनोले एफएफई परियोजनाको सञ्चार र परामर्श प्रक्रियामा भएका गल्तीका लागि माफी माग्दै उक्त योजना अन्तिम निर्णय नभई प्रस्ताव मात्रै रहेको बताए। उनका अनुसार प्रस्तावको उद्देश्य विद्यमान सहयोग कटौती गर्नु नभई सदस्य संघहरूमा फिफाको लगानी बढाउनु थियो।

उनले बैठकमा विभिन्न धारणा प्रस्तुत भएको र छलफल रचनात्मक रहेको बताउँदै उठेका प्रश्नको जवाफ पछि लिखित रूपमा दिने बताएका छन्।

कागजात नदिएकोमा हेविटको आपत्ति

इङ्ल्यान्ड फुटबल संघकी अध्यक्षसमेत रहेकी फिफा उपाध्यक्ष हेविटले बैठकमा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ नपाइएको बताइन्। उनले एफएफईसम्बन्धी कागजात उपलब्ध गराउन पटक पटक माग गर्दा पनि नपाएको उल्लेख गरिन्।

‘हामीले विशेष रूपमा माग गरेका कुनै पनि विषयमा जवाफ पाएनौँ। उदाहरणका लागि, एफएफईसम्बन्धी कागजात मागेका थियौँ,’ हेविटले भनिन्, ‘मैले कागजात किन नदिइएको भनेर प्रश्न गर्दा लिखित रूपमा प्रश्न पठाउन भनियो।’

उनले इन्फान्टिनोले प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिँदै भनिन्, ‘यदि उनले अहिले पनि ती प्रश्नको जवाफ दिँदैनन् भने उनी फिफा अध्यक्षका रूपमा योग्य छैनन्। बैठकमा पनि यही कुरा उठाइएको थियो।’

हेविटले एफएफई प्रस्तावको पृष्ठभूमि, बालोगुनको प्रतिबन्धसम्बन्धी निर्णय र फिफा शान्ति पुरस्कारबारे स्पष्ट जवाफ नआएसम्म इन्फान्टिनोप्रतिको आफ्नो धारणा परिवर्तन नहुने बताइन्।

उनका अनुसार प्रस्तावमा संलग्न व्यक्तिहरूमाथि विश्वास गर्न सकिन्छ वा सकिँदैन भन्ने निष्कर्षमा पुग्न वास्तविक घटनाक्रम र सम्बन्धित कागजात हेर्न आवश्यक छ।

इन्फान्टिनोको माफीमा केही पश्चात्ताप देखिएको स्वीकार गरे पनि हेविटले काउन्सिलसँग जानकारी साझा नगर्नु नै माफीको मुख्य विषय बनेको बताइन्।

‘यदि उनी यस विषयमा साँच्चिकै पश्चात्ताप गर्छन् भने कागजात हामीसँग साझा गर्नुपर्छ,’ उनले भनिन्।

युइएफएको कानुनी दबाब

युरोपेली फुटबलको सर्वोच्च निकाय -युइएफए  इन्फान्टिनोका प्रमुख आलोचकहरूमध्ये एक हो। युइएफएले उनलाई पद छाड्न पटक पटक आग्रह गर्दै आएको छ।

युइएफएले इन्फान्टिनोविरुद्ध फौजदारी कानुनी प्रक्रिया अघि बढाउने तयारी गर्नुका साथै एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गराउन अमेरिकाका तीनवटा अदालतमा दाबी दर्ता गरेको छ।

हेविटले कागजात सार्वजनिक भएपछि मात्र एफएफई प्रकरणमा सम्भावित कानुनी कारबाहीबारे स्पष्ट हुन सकिने बताइन्।

‘कुनै फौजदारी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने हो वा होइन भन्ने विषयमा सहज निष्कर्षमा पुग्न कागजात काउन्सिलमा आउनु महत्त्वपूर्ण छ,’ उनले भनिन्।

युइएफएको अडानमा परिवर्तन आएको हो भन्ने प्रश्नमा हेविटले आफ्नो धारणा यथावत् रहेको बताइन्। इन्फान्टिनोले माफी माग्नुबाहेक आफ्नो दृष्टिकोण बदल्ने कुनै नयाँ जानकारी नआएको उनको भनाइ छ।