दशैंमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

  • Clock icon
    २०८३ आश्विन ३०, शुक्रबार

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जानकारी दिएको छ।

ती चार दिन दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो।

दशैंको बेला उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन्।

‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन्।

दशैंका मुख्य चार दिनबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा हुँदै आएको छ।

‘ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोरमैला व्यवस्थापनमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिका सहित सम्पूर्ण उपत्यकावासीहरुमा आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निष्कासन हुने फोहोरमैलालाई जथाभावी रूपमा सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा नफाल्नुहुन हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘फोहरमैला व्यवस्थापनलाई सहज, व्यवस्थित तथा वातावरणमैत्री बनाउन कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै वर्गीकरण गरी राख साथै चाडपर्वको समयमा आफ्नो घरआँगन, टोल तथा सार्वजनिक स्थान सफा र स्वच्छ राख, वातावरणीय स्वच्छता कायम गर्न तथा फोहोरमैला व्यवस्थापनमा महानगरपालिकालाई सहयोग पुऱ्याउनुहुन सम्पूर्ण उपत्यकावासीहरुमा हार्दिक अपिल गरिन्छ।’