रास्वपाले खोल्यो स्थानीय निर्वाचनका लागि आवेदन

  • Clock icon
    २०८३ आश्विन ३०, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने उद्देश्यले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले दिएको जानकारीअनुसार पार्टीले स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवार बन्ने प्रक्रियामा सहभागी गराउन क्यान्डिडेट क्लबको आवेदन खुला गरेको हो।

नगरपालिकाको विकासका लागि अरूको प्रतीक्षा गर्नुभन्दा आफैँ मैदानमा उत्रिएर काम गर्ने इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै क्लबले नगरको रूपान्तरणका लागि सक्रिय हुन चाहने व्यक्तिहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाअन्तर्गत सुरु गरिएको यस प्रक्रियामार्फत देशभरका २७६ नगरपालिकामा प्रमुख (मेयर) २७६ जना, उपप्रमुख (उपमेयर) २७६ जना, वडाध्यक्ष ३ हजार ११९ जना र वडा सदस्य १२ हजार ४७६ जनाका लागि उम्मेदवार छनोट गरिने जनाइएको छ।

यसरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि पार्टीको आधिकारिक उम्मेदवार छनोट प्रक्रिया अघि बढ्नेछ।

नगरपालिकाको नेतृत्वदेखि वडा तहसम्मका जनप्रतिनिधि छनोट गर्ने यस अभियानले स्थानीय तहमा काम गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीको उम्मेदवार बन्ने प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

क्यान्डिडेट क्लबमा आवेदन दिन इच्छुक व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमा लगइन गरेर आवेदन दिन सक्नेछन्।

‘हामीले नगरपालिका क्यान्डिडेट क्लबुको आवेदन खुला गरेका छौँ। यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला। आवेदन दिन पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गर्नुहोला,’ महामन्त्री आचार्यले भने।