आज असोज शुक्ल अष्टमी अर्थात् दशैंको आठौँ दिन। आजको दिनलाई नेपाली परम्पराअनुसार महाअष्टमी भन्ने चलन छ। आज नवदुर्गामध्येकी महागौरीको पूजा आराधना गरिन्छ।
यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ।
महागौरी देवीको रङ्ग पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन्। त्यो शब्द भगवतीलाई मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ।
महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भन्ने उल्लेख छ।
महागौरीको पूजा अराधनाले सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख छ। महागौरीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने पनि बताइन्छ।
दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी पूजा आराधना गरिएको थियो। यस्तै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

नवरात्रिका ९ देवीहरू
आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
महाअष्टमीमा के गरिन्छ ?
गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्ति पीठ, दसैँ घर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ ।
नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजा अर्चना समेत विधि विधान अनुसार गरिन्छ ।
