आजपनि अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा

  • Clock icon
    २०८३ कार्तिक १५, शनिबार

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

भोली आइतबार भने देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।