पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ।
आज मंगलबार भएको खेलमा पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो।
शीर्ष स्थानमा उक्लेको लुम्बिनीको तालिकामा ५ अंक छ। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन भएर तालिकाको पुछारमा छ। जारी एनपीएलमा पोखरा मात्र जित र अंकविहीन टोली हो।
एनपीएलको पहिलो सिजनमा पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो। दोस्रो सिजनमा भने लुम्बिनीले पोखरालाई ३ विकेटले हराएको थियो
पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
लुम्बिनीका ओपनर आशिफ शेख ७ रनमा रनआउट भए। डार्सी सर्ट १३ रन बनाउँदा विपिन खत्रीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए।
कप्तान राहित पौडेल ४७ र निरोशन डिकवेल्ला २७ रनमा अविजित रहे। तेस्रो विकेटका लागि रोहित र निरोसनले ७७ रनको अविजित साझेदारी गरे।
पोखराका लागि विपिन खत्रीले एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको थियो।
पोखराका लागि चमिका करुणारत्नेले बनाएको २५ रन नै सर्वाधिक रह्यो। उनले १७ बलमा २ छक्का हान्दा रनआउट भए। विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे।
कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए। सदिराले ७, अर्जुन घर्ति ६ र सकिब अल हसनले ३ रन बनाउँदै पेभेलियन फर्के।
लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिए।
आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि २ को रोमाञ्चक जित हात पारेको थियो।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन मात्र बनाउन सक्यो। एनपीएलको आजको पहिलो खेलमा ४ अर्धशतक प्रहार भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।
एनपीएलमा भोली बुधबार विश्रामको दिन रहेको छ। बिहीबार दुई खेल हुनेछ। पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौ गोर्खाज र विराटनगर किग्स खेल्ने तालिका छ।
