बेलायतकी राजकुमारी केट मिडलटनले क्यान्सरसँगको आफ्नो अनुभवबारे नयाँ वृत्तचित्रमा खुलेर बोलेकी छन् ।
क्यान्सरले शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि मानिसलाई गहिरो परिवर्तन गर्ने उनले बताएकी छन् ।
‘हिल’ नामक वृत्तचित्रको ट्रेलरमा ४४ वर्षीया केटले क्यान्सरको अनुभवले आफूलाई कसरी बदल्यो भन्नेबारे बोलेकी छन् ।
‘क्यान्सरले तपाईँलाई बदल्छ । यसले तपाईंको शरीर बदल्छ । शारीरिक रूपमा परिवर्तन गर्छ । तर, क्यान्सरको निदानले तपाईंभित्र परिवर्तन गर्ने कुरा योभन्दा धेरै गहिरो हुन्छ,’ उनले ट्रेलरमा भनेकी छन् ।
वृत्तचित्रले क्यान्सरको उपचारपछि निको हुने प्रक्रियामा देखिने शारीरिक तथा भावनात्मक असर र त्यसबाट उत्पन्न चुनौतीहरूलाई समेटेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ‘कहिलेकाहीँ पीडाबाटै हामी त्यसपछिको अझ ठूलो सुन्दरता महसुस गर्न सक्छौँ,’ केटले भनेकी छन् ।
वृत्तचित्रमा केटले २४ घण्टाभित्र स्कटल्यान्ड, इंग्ल्यान्ड र वेल्सका तीनवटा अग्ला पर्वत चढ्ने चुनौती (नेसनल थ्री पिक्स च्यालेन्ज) पूरा गर्ने प्रयास गरेको दृश्य पनि समेटिएको छ । उनी आफ्ना भाइ जेम्स मिडलटनसँग पर्वतारोहण गरिरहेकी देखिन्छिन् ।
क्यान्सरको उपचार पूरा भएको संकेतका रूपमा बजाइने घण्टी आफूले नबजाएको केटले बताएकी छन् । ‘मैले घण्टी बजाइनँ,’ उनले भाइसँगको कुराकानीमा भनेकी छन् । त्यसपछि जेम्सले ‘सायद यो नै तिम्रो घण्टी बजाएको क्षण हो’ भन्दै जवाफ दिएका छन् ।
केन्सिङ्टन प्यालेसका अनुसार, केटले यो वृत्तचित्रमार्फत क्यान्सरको निदान, उपचार, निको हुने प्रक्रिया र उपचारपछिको जीवनसँग जुधिरहेका मानिसलाई सहयोग गर्ने आशा राखेकी छन् । साथै, बिरामीको शारीरिक स्वास्थ्यसँगै भावनात्मक स्वास्थ्यलाई पनि सम्बोधन गर्ने समग्र उपचार पद्धति (होलिस्टिक केयर)मा पहुँच विस्तार गर्न वृत्तचित्रले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
केटले सन् २०२४ को मार्चमा आफ्नो क्यान्सर निदान सार्वजनिक गरेकी थिइन् । त्यसअघि जनवरीमा उनको पेटको शल्यक्रिया गरिएको थियो ।
उनले सन् २०२४ को सेप्टेम्बरमा केमोथेरापी पूरा गरेको घोषणा गरेकी थिइन् भने जनवरी २०२५ मा क्यान्सर निर्मूल भएको नभई रिमिसन (रोग नियन्त्रण वा लक्षणरहित अवस्था)मा रहेको पुष्टि गरेकी थिइन् । उनले आफूलाई लागेको क्यान्सरको प्रकार भने सार्वजनिक गरेकी छैनन् ।
वृत्तचित्रबाट प्राप्त वितरणसम्बन्धी सबै रकम आफूले उपचार गराएको अस्पताल रोयल मार्सडेनलाई सहयोग गर्ने रोयल मार्सडेन क्यान्सर च्यारिटीमा जाने केन्सिङ्टन प्यालेसले जनाएको छ ।
उक्त रकम क्यान्सरबाट पीडित तथा उपचारपछि जीवन बिताइरहेका मानिसहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ ।
केट बिस्तारै राजकीय जिम्मेवारीमा फर्किरहेकी छन् । यसै साता उनी आफ्ना पति राजकुमार विलियमसँग भारतमा आयोजित अर्थसट पुरस्कार समारोहमा सहभागी भएकी थिइन् । क्यान्सर निदान सार्वजनिक गरेपछि दुवैले आधिकारिक भ्रमणका क्रममा पहिलोपटक विदेश यात्रा गरेका हुन् ।
‘हिल’ नोभेम्बर २९ मा बीबीसीबाट प्रसारण हुनेछ । अमेरिकामा नोभेम्बर ३०, अस्ट्रेलियामा डिसेम्बर १ तथा क्यानडामा डिसेम्बर ७ मा प्रसारण हुने कार्यक्रम छ ।