भर्ना नलिने निजी मेडिकल कलेजको घोषणासँगै विद्यार्थी अन्योलमा

चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारण र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः एकपटक विवाद र अन्योल सिर्जना भएको छ ।

निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ले सिट निर्धारण प्रक्रियामा पारदर्शिता नअपनाइएको र वार्षिक शिक्षण शुल्क पुनरवलोकन लागु नगरिएको भन्दै स्नातक तथा स्नातकोत्तर तहका नयाँ भर्ना लिन असमर्थ रहेको घोषणा गरेपछि चिकित्सा शिक्षा क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको हो ।

एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई तत्काल भर्ना प्रक्रिया अगाडि नबढाउनसमेत आग्रह गरेको छ ।

ठीक यही समयमा आयोगले शैक्षिक सत्र २०८३-८४ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०२७ अन्तर्गत एमबीबीएस, बाम्स, बीएस्सी नर्सिङ, बी अप्टोमेट्रीलगायत कार्यक्रमको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा प्रकाशन भई विद्यार्थीहरू भर्नाको पर्खाइमा बसिरहेका बेला निजी कलेजहरूको यस्तो अडानले हजारौँ विद्यार्थी र अभिभावकको भविष्यमाथि गम्भीर संशय र चिन्ता थपिदिएको छ ।

निजी मेडिकल कलेज सञ्चालकहरूले मुख्यतः सिट निर्धारणको पारदर्शिता र शिक्षण शुल्कको वैज्ञानिक समायोजनलाई प्रमुख मुद्दा बनाएका छन् ।

आयोगले गत असोज ३० गते सिट निर्धारणसम्बन्धी सूचना जारी गरे पनि सिट निर्धारणका लागि अवलम्बन गरिएको मापदण्ड, मूल्याङ्कनका सूचकहरू, प्रत्येक सूचकको भार र गणना विधि सार्वजनिक नगरेको एसोसिएसनको आरोप छ ।

कलेजहरूले प्रत्येक शिक्षण संस्थाको इन्डीभिजुअल कलेज स्कोर कार्ड र सिट वृद्धि, यथावत् वा कटौती गरिनुको स्पष्ट आधार तथा कारण आयोगको वेबसाइटमा सार्वजनिक गर्न माग गरेका छन् । मूल्याङ्कनको विस्तृत विवरण सार्वजनिक भएमा कलेजहरूले आफ्नो वर्तमान अवस्था, जनशक्ति र भौतिक पूर्वाधारको वस्तुनिष्ठ समीक्षा गरी सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सक्ने एसोसिएसनको तर्क छ ।

विवादको अर्को र सबैभन्दा पेचिलो पाटो शिक्षण शुल्क पुनरवलोकन हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ तथा नियमावली, २०७७ को नियम २३ मा शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था र छात्रवृत्ति भारलाई ध्यानमा राखी शुल्क निर्धारण तथा पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निजी कलेज सञ्चालकहरूले विगत पाँच वर्षमा नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कुल मुद्रास्फीति दर करिब २६।६४ प्रतिशतले वृद्धि भइसकेको अवस्थामा पुरानै शुल्कमा कलेज सञ्चालन गर्न आर्थिक रूपले असम्भव भएको जिकिर गरेका छन् ।

यस अवधिमा चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूको पारिश्रमिक, न्यूनतम ज्याला, विद्युत्, इन्धन, प्रयोगशाला उपकरण, विश्वविद्यालय शुल्क र अस्पताल सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएको उनीहरूको भनाइ छ । साथै, निजी कलेजहरूले राज्यलाई बुझाउनुपर्ने छात्रवृत्ति, निःशुल्क शैया र स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्वका दायित्वसमेत निर्वाह गरिरहेकाले हाल कायम शुल्क र वास्तविक सञ्चालन लागतबिच ठूलो असन्तुलन पैदा भएको एसोसिएसनले जनाएको छ । यही आर्थिक कठिनाइका कारण स्नातक तहमा नयाँ विद्यार्थी भर्ना लिन नसकिने निष्कर्षमा कलेजहरू पुगेका हुन् ।

यसअघि चिकित्सा शिक्षा आयोगको १८ औँ पूर्ण बैठकद्वारा गठित शुल्क तथा सिट पुनरवलोकन कार्यदलले स्नातक तथा स्नातकोत्तर तहको शुल्क समायोजनसम्बन्धी सिफारिस पेस गरेको थियो । त्यस्तै, सन् २०२५ मा आयोग र स्वास्थ्य मन्त्रालयसँग सन् २०२६ देखि ऐनअनुरुप शिक्षण शुल्क निर्धारण तथा समायोजन गर्ने समझदारीसमेत भएको एसोसिएसनले स्मरण गराएको छ । तर, आफ्नै कार्यदलको सिफारिस र विगतका सहमति कार्यान्वयन गर्न राज्य पक्ष उदासीन बनेको आरोप लगाउँदै कलेज सञ्चालकहरूले कडा कदम चाल्न बाध्य भएको बताएका छन् । कानुनी व्यवस्था र विगतका सम्झौता कार्यान्वयन नहुँदा निजी क्षेत्रको अर्बौँको लगानी जोखिममा परेको उनीहरूको दाबी छ ।

यस्तो संवेदनशील समयमा निजी कलेजहरूले भर्ना नै नलिने घोषणा गर्दा नतिजा कुरेर बसेका र उत्तीर्ण भएका हजारौँ विद्यार्थीहरू अन्योलमा परेका छन् । कतिपय विद्यार्थी त स्वदेशमा भर्ना प्रक्रिया अवरुद्ध हुने हो कि भन्ने त्रासले विदेशिने मनस्थितिमा समेत पुग्न थालेका छन् ।

नियामक निकाय चिकित्सा शिक्षा आयोग र सेवा प्रदायक निजी मेडिकल कलेजहरूबीचको यो टकरावले समग्र चिकित्सा शिक्षा प्रणालीलाई नै बन्धक बनाउने खतरा देखिएको छ । निजी कलेजहरूले सिट निर्धारणको स्कोर कार्ड सार्वजनिक गर्न, वैज्ञानिक आधारमा शुल्क समायोजन गर्न र शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आयोग, विश्वविद्यालय तथा कलेज प्रतिनिधि सम्मिलित संयुक्त सरोकारवाला बैठक तत्काल आयोजना गर्न माग गरेका छन् ।

सरकारले समयमै संवाद र सहमतिको माध्यमबाट यो गतिरोध अन्त्य नगरेमा एकातिर शैक्षिक सत्र नै धकेलिने जोखिम रहन्छ भने अर्कोतिर गुणस्तरीय चिकित्सा शिक्षाको नाममा विद्यार्थी र अभिभावकले थप मानसिक र आर्थिक सास्ती व्यहोर्नुपर्ने निश्चित छ ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३र८४ का लागि स्नातक, डीएमरएमसीएच र एनबीएमएस ९सव–स्पेसियालिटी० तहमा सिट निर्धारण गरेका शिक्षण संस्थानहरूको कुल सङ्ख्या ९५ छ । यसअन्तर्गत स्नातक तहमा ८८ वटा, डिएमरएमसीएच तहमा १५ वटा ९जसमध्ये ८ वटा स्नातक तहकै सूचीमा पनि समावेश छन्० र एनबिएमएस तहमा ६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरिएको छ ।

‘शुल्क पुनरवलोकन नहुँदा मेडिकल कलेज सञ्चालन गर्न कठिन’

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले दशकौँदेखि चिकित्सा शिक्षाको सिट र शुल्क पुनरवलोकन नहुँदा संस्था सञ्चालन गर्न कठिन भएको बताए ।

उनले भने, ‘वर्तमान बजारभाउ, महँगी, कर्मचारीको तलब, बिजुली तथा पानीको महसुल र अन्य खर्च बढ्दा समेत पुरानै दरमा संस्था चलाउन सकिँदैन । आर्थिक सूचक, महँगी, नतिजा र गुणस्तरका आधारमा प्रत्येक वर्ष वा निश्चित अवधिमा शुल्क र सिटको पुनरवलोकन हुने वैज्ञानिक व्यवस्था हुनुपर्छ ।’

अध्यक्ष प्राडा कार्कीले सिट निर्धारण गर्दा अपनाइने मापदण्डसार्वजनिक गर्न तथा कलेजहरूको इन्डिभिजुअल स्कोर कार्ड र मूल्यान विधि पारदर्शी बनाउन माग गरे । १० वर्षमा जम्मा ५०० सिट मात्र थपिएको र शुल्क पनि न्यून मात्र बढेकाले कलेजहरू आर्थिक दबाबमा परेको उनको भनाइ छ । उनले आफूहरू पठनपाठन रोक्ने पक्षमा नरहे पनि राज्यले आफ्ना माग सम्बोधन नगरेसम्म विद्यार्थी भर्ना प्रक्रिया रोकेर प्रतीक्षा गर्ने बताए । सरोकारवाला निकायसँग तत्काल संवाद गर्न आग्रह गर्दै प्राडा कार्कीले वार्तामार्फत दीर्घकालीन र स्पष्ट नीति तय गरिनुपर्नेमा जोड दिए ।

आयोग भन्छ : पुरानै शुल्क कार्यान्वयनमा आउँछ

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अर्जुन ढकालले तत्काल शुल्क पुनरवलोकनबारे कुनै औपचारिक छलफल सुरु नभएको बताए । उनले पुरानै शुल्क कार्यान्वयन हुने बताए ।

चिकित्सा शिक्षा आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ गतेको निर्णयबाट स्नातक र सोभन्दा माथिल्ला तहको शिक्षण शुल्क निर्धारण गरेको थियो । पछि २०७९ मंसिर १५ गते समायोजन गरिएको शुल्कसमेतलाई समेटेर एकीकृत शुल्क कायम गरिएको थियो ।

यस्तो छ शुल्क ?

चिकित्सा शिक्षा आयोगले स्नातक तह र सोभन्दा माथिका शैक्षिक कार्यक्रमहरूका लागि हाल कायम एकीकृत शिक्षण शुल्क विवरण पहिलेकै निर्णयअनुसार कार्यान्वयनमा ल्याएको छ । आयोगको मिति २०७७ माघ २९ र २०७८ जेठ २८ गतेको निर्णयबाट निर्धारण भएको तथा २०७९ मङ्सिर