सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो।
हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटब्रस्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरूको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए।
परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ। सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए।
प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले जानकारी दिए। पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए। उनका अनुसार अब हिमतालको जोखिम न्यूनीकरणमा सरकारले तत्कालै काम गर्न आवश्यक छ।
सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रस्तुत गर्दै उनले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए। पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन्।
नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए।
सन् २०१६ को भोटेकोसी हिमताल विस्फोटको उदाहरण दिँदै उनले करिब ०।०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिव ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरे।
उनका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पुर्याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो।
तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन्। तीमध्ये ४२ वटा कोसी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोसी बेसिनमा छन्।

ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उनको भनाई छ। सोही कारण विपद् हुनुअगाडी नै हिमताल जोखिम न्यूनीकरण गर्नको लागि सरकारले ‘सञ्जीवनी’ परियोजना अगाडी बढाएको उनले बताए।
परियोजनाका लागि ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ।
नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन अमेरिकी डलर रहनेछ। यसरी परियोजनाको कुल लागत करिब ५० मिलियन अमेरिकी डलर रहेको उनले जानकारी दिए।
परियोजनाको अवधि सात वर्षको रहेको छ। हिमाली क्षेत्रमा काम गर्न अनुकूल मौसमको समय सिमित हुने र भौगोलिक तथा प्राविधिक चुनौती रहने भएकाले कार्यान्वयन अवधि लामो राखिएको उनले बताए। परियोजनाले करिब २४ चार लाख मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ पुर्याउने उनको भनाई छ।
परियोजनाको सातवर्षे अवधि सकिएपछि थप सात वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ।
जलवायु परिवर्तनको प्रभाव हिमताल विस्फोटका साथै कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत देखिन थालेको उनको भनाई छ। तराईमा खडेरी र बाढीका घटना, हिमाली क्षेत्रमा हिउँपहिरो तथा हिमतालजन्य विपद् र खराब मौसमका कारण पर्यटन गतिविधिमा समेत असर परेको उनले बताए।
नेपालको कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी करिडोरमा बढ्दो आर्थिक गतिविधि तथा जोखिमसम्बन्धी सूचनाको अभावले विपद्को जोखिम थप बढाएको उनको भनाई छ।
कोसी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउनुपर्ने बताए।
परियोजनाले कोसी बेसिनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै आफूहरू पनि विपद् न्यूनीकरणमा संघीय सरकारसँग हातेमालो गर्न तयार रहेको बताए।
जलवायु जोखिमसँग प्रत्यक्ष जोडिएका विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ।
उनले प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न आग्रह गरे।
उनले विपद् न्यूनीकरण लागि उपलब्ध बजेट स्थानीय तहसम्म पुर्याएर प्रभावकारी रूपमा खर्च गर्नुपर्नेमा जोड दिए। कतिपय खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधले खर्च गर्न समस्या भईरहेको उनको भनाई छ।
जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले नेपालमा हिमताल विस्फोटको जोखिम न्यूनीकरणको गति बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार हालको कार्यशैली र लगानीको गति कायम रहेमा बाँकी जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्नसक्छ।
चार वटा हिमताल व्यवस्थापन गर्न १० वर्ष लगाएर नहुने उनको भनाई छ।
उनले भने, ‘चारवटा हिमताल व्यवस्थापन गर्न अहिले सातदेखि १० वर्षको समय लाग्ने हो भने बाँकी १५ वटा व्यवस्थापन गर्न कम्तीमा ३०–४० वर्ष लाग्न सक्छ।
त्यसैले सबै विकास साझेदार मिलेर आगामी सातदेखि १० वर्षभित्र जोखिमयुक्त हिमताल व्यवस्थापनको काम सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ।’
उनले जलवायुजन्य विपद् व्यवस्थापनमा जलविद्युत विकासकर्तालाई समेत सहभागी गराउनुपर्ने बताए। नदी करिडोरमा रहेका जलविद्युत आयोजनासँग निगरानी केन्द्र, सञ्चार प्रणाली र प्रभावित समुदायसम्बन्धी तथ्यांक रहेकाले ती स्रोतलाई पूर्वसूचना प्रणालीमा उपयोग गर्न सकिने उनको भनाइ थियो।
जलविद्युत कम्पनीसँग सहकार्य गरेर नदी करिडोरमा निगरानी केन्द्र विस्तार गर्ने तथा प्रभावित समुदायसम्म सूचना पुर्याउने संयन्त्र विकास गर्न सकिने उनको सुझाव छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई जलस्रोत, विपद् तथा जलवायु उत्थानशीलतासम्बन्धी उत्कृष्टता केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
ग्रीन क्लाइमेट फण्ड सचिवालयका प्रतिनिधि डा वाफोन फकरुद्दिनले परियोजना चारवटा हिमतालको जोखिम घटाउनमा मात्रै सिमित हुन नहुने बताए। नेपालमा पहिचान भएका अन्य २१ जोखिमयुक्त हिमतालमध्ये हाल परियोजनाले नसमेटेका १७ वटा क्षेत्रमा पनि लगानी विस्तार गर्ने आधार तयार गर्नुपर्नेमा जोड दिए।
यसका लागि वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित योजना, विकास वित्तीय संस्थासँगको साझेदारी र थप वित्तीय स्रोत परिचालन आवश्यक रहेको उनको भनाई छ।
उनले जलवायु वित्त परिचालनका लागि राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय मञ्च निर्माण गर्नुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय वित्तीय सहयोग, सरकारी बजेट विनियोजन र स्थानीय जोखिममा रहेका समुदायसम्म स्रोत पुर्याउने प्रणाली विकास गर्नुपर्ने उनले बताए। उनले हिमनदी तथा हिमतालजन्य विपद् व्यवस्थापनमा नेपालले भोगेका अनुभवलाई क्षेत्रीय स्तरमा आदानप्रदान गर्नुपर्नेमा पनि जोड दिए।
हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसँगै छिमेकी मुलुक पनि समान प्रकृतिका जोखिममा रहेकाले सीमापार सहकार्य आवश्यक रहेको उनको भनाई छ।
उनले परियोजनाबाट प्राप्त अनुभवलाई मध्य एशिया, ल्याटिन अमेरिका र अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा समेत विस्तार गर्न सकिने बताए। परियोजनालाई तत्काल कार्यान्वयनमा लैजान जोड दिए। परियोजनाको पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको उनले जानकारी दिए।
