स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवाली र माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अपरेसन हेड प्रतिमा पाण्डे विच भेटघाट गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका कोइरालासँगको भेटमा नेपालको औद्योगिक विकास, उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप इकोसिस्टम निर्माण र युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्ने विषयमा छलफल भएको छ ।
भेटमा अध्यक्ष ज्ञवालीले पढेलेखेका तथा सीपयुक्त युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिने प्रवृत्तिलाई न्यूनीकरण गर्दै नेपालमै व्यवसाय तथा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली उत्पादनको प्रवद्र्धन, आयात प्रतिस्थापन र स्वदेशी वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन उद्यमशीलताको विकास अपरिहार्य रहेको उहाँले बताउनुभयो । नेपाललाई स्टार्टअपमैत्री मुलुकका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा ज्ञवालीले नीति रिसर्च प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टार्टअप समिट नेपाल २०२६ को उद्देश्य, कार्ययोजना र हालसम्म सम्पन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो । सातै प्रदेशका सम्भावना पहिचान गर्ने, स्थानीय उद्यमी, युवा, विद्यार्थी तथा महिलालाई एउटै मञ्चमा जोड्ने र स्टार्टअप इकोसिस्टम, वित्तीय पहुँच, बजार तथा नीतिगत चुनौतीबारे छलफल गर्ने उद्देश्यले समिट सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यसअघि त्रिभुवन विश्वविद्यालयमा अन्तरक्रिया, महिला उद्यमशीलताका अवसर, चुनौती र आगामी बाटो विषयक कार्यक्रम तथा काठमाडौंका विभिन्न विद्यालय र कलेजमा स्टार्टअप केन्द्रित कार्यक्रम सम्पन्न भइसकेको पनी उक्त भेटमा बताउनु भयो ।
समिटको प्रदेशस्तरीय अभियान गण्डकी प्रदेशको पोखराबाट सुरु भइसकेको छ । गत कात्तिक १८ गते आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, पोखरा महानगरपालिकाका प्रमुख, नेपालका लागि पाकिस्तानका राजदूत, औद्योगिक व्यवसाय विकास संस्थाका कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्यमी, विद्यार्थी र सञ्चारकर्मीसहित करिब ४०० जनाको सहभागिता थियो । कार्यक्रममा स्टार्टअप कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका २२ उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरिएको थियो । स्टार्टअप कर्जा, उद्यम सञ्चालनका अवसर र नेपालको आर्थिक विकासमा स्टार्टअपको भूमिकाबारे अन्तरक्रिया पनि गरिएको बताउनु भयो ।
भेटमा बैंकका सीईओ कोइरालाले नेपालमा स्टार्टअप तथा उद्यमशीलताको सम्भावना राम्रो भए पनि यसबारे पर्याप्त जानकारी र वित्तीय साक्षरताको अभाव रहेको बताउनुभयो । उद्यमशीलताको वातावरणलाई थप सहज बनाउन सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । बैंक, नियामक निकाय र व्यवसायीका आ–आफ्नै नीति तथा प्रक्रियाका कारण देखिएका समस्या समाधान गर्दै कर्जा लिने, दिने र नीति निर्माण गर्ने सबै पक्षलाई सहज हुने गरी स्टार्टअपमैत्री नीति परिमार्जन गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा स्टार्टअप कर्जा तथा साना एसएमई कर्जामार्फत व्यवसाय सञ्चालन गरी सफल भएका उदाहरणहरू प्रशस्त रहेको उल्लेख गर्दै कोइरालाले यस्ता कार्यक्रमले उद्यमशीलताका अवसर र वित्तीय पहुँचबारे जानकारी विस्तार गर्न सहयोग गर्ने धारणा राख्नुभयो । स्टार्टअप समिट नेपाल २०२६ को अभियान सकारात्मक रहेको बताउँदै उहाँले माछापुच्छ्रे बैंक यस अभियानमा जोडिएर जाने बताउनुभयो । विशेषगरी महिला, युवा तथा ग्रामीण क्षेत्रका उद्यमीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।
नीति रिसर्च प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टार्टअप समिट नेपाल २०२६ ले सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरी त्यसपछि काठमाडौंमा राष्ट्रियस्तरको समिट गर्ने र नेपालको मात्र लगानी नभै विदेशि लगानी भित्याउन विभिन्न डिप्लोमेटसँग सहकार्य गरी बैदेशिक अनुभव सहित नेपालमा स्र्टाटअप उद्यमीहरुसँग सहकार्य गर्ने वातावरण बनाउने लक्ष्य राखेको छ । स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण, युवा पलायन न्यूनीकरण, वित्तीय पहुँच विस्तार र नेपाली उत्पादनको प्रवद्र्धनलाई अभियानले प्राथमिकतामा राखेको छ ।
