ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्नका लागि स्थानीय युवालाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन्। खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन र मर्मतसम्भार तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस क्षेत्रलाई जलविद्युतको प्रमुख केन्द्र बनाउने उद्देश्य राखेको बताए।
मन्त्री खड्काले सङ्खुवासभामा अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित जलविद्युत आयोजना निर्माणको चरणमा रहेको उल्लेख गर्दै, “यस्ता आयोजनाहरूको दीर्घकालिक सफलता र स्थायीत्वको लागि प्राविधिक सीप भएका स्थानीय युवाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ,” भने।
सङ्खुवासभामा जलविद्युत आयोजना सञ्चालन हुँदै गर्दा स्थानीय स्तरमा रोजगारी सृजनाका लागि सीप विकासमुखी तालिम अनिवार्य रहेको भन्दै मन्त्री खड्काले भने, “सीप विकास मात्र रोजगारको आधार होइन, यसले स्थानीय जनताको आर्थिक सबलीकरण र आत्मनिर्भरता बढाउँछ।”
सङ्खुवासभाका १० पालिकाबाट २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ, जसमा तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। यस तालिमले जलविद्युत आयोजना सञ्चालनमा काम गर्ने अवसर पनि प्रदान गर्ने लक्ष्य राखिएको छ।
मन्त्री खड्काले तालिमका कार्यक्रमलाई दीर्घकालीन दृष्टिकोणको रूपमा स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन भविष्यमा खाँदबारीमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना पनि प्रस्तुत गरे।
कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो। नगरप्रमुख थपलियाले नगरपालिकाले यस्ता तालिमलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।