गाडी हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ।
आज शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका( ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठमाडौँ आउँदै गरेको ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसहितका जिल्लाबाट काठमाडौँ र तराईतर्फ हिँडेका सानाठूला दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिलोमा फसेको ट्रक निकाल्ने पहल भइरहेको जनाएको छ। घटनास्थलमा अहिले अस्थायी प्रहरी पोस्ट हैवारवेँसीबाट प्रहरीहरु पुगेका छन्।
त्यसैगरि गोलन्जोर(६ बलेनीमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यो मार्ग हुँदै ओहोरदोहार गर्ने यात्रुको बिचल्ली भएको छ।
गएराति सिन्धुलीसहितका जिल्लामा अविरल वर्षा भएको छ। त्यस क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।