बहुराष्ट्रिय कम्पनी काल्सबर्गको नेपाली कम्पनी गोर्खा ब्रुअरी नेपाली बियर बजारको जायन्ट उद्योग हो। बजार हिस्सादेखि उसले गर्ने व्यापारसम्म सबै सूचकमा अब्बल छ। गोर्खा ब्रुअरीमा लामो समयसम्म स्थानीय साझेदारका रुपमा नेपालको प्रतिष्ठित व्यावसायिक घराना खेतान समूह साझेदार थियो।
नेपाल छाडेर गइसकेका सीपी खेतानले उक्त कम्पनीबाट लगानी झिकिसकेका छन्। करिब १ खर्ब रुपैयाँमा उनले सेयर बिक्री गरेर नेपाललगायतका कार्ल्सबर्गबाट उनी बाहिरिएपछि नेपालमा गोर्खाले अर्को साझेदार भित्र्याउन खोजेको छ।
गोर्खाले लगानीकर्ताभन्दा पनि चल्तीकै अर्को बियर उत्पादक कम्पनीलाई आफूमा गाभ्न खोजेको छ।
नेपालको मदिराको अर्को जायन्ट घराना जाउलाखेल समूहको राज ब्रुअरीलाई मर्ज गराएर साझेदारका रुपमा भित्र्याउने योजना गोर्खाको छ। राज ब्रुअरी गोर्खा मातहत जाने र त्यसबापत गोराखा ब्रुअरीको कम्तिमा ८ प्रतिशत सेयर जाउलाखेल समूहले पाउने प्रारम्भिक सहमति भइसकेको थियो। तर पछिल्लो समय हिस्सा अझै बढाउने तर लगानी थप गर्नेसम्मको छलफल भइरहेको छ।
गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई गाभ्ने कुरा एउटा सामान्य व्यावसायिक सम्झौता र कारोबारमा मात्र सीमित देखिएको छैन। यो खरिदबिक्रीका लागि दुई कम्पनीले अनुमतिका लागि भन्दै उद्योग विभागमा आवेदन दिइसकेका छन्। जुन अहिले अध्ययनकै क्रममा रहेको छ।
यो व्यावसायिक डिल राज्यको नीतिदेखि उद्योगीहरूको नियतले बजार व्यवस्थालाई चुनौती दिने खालका छन्।
१) पहिलो कुरा त नेपालमा बियरको बजारमा एक्लै ५५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरी आफैमा जायन्ट कम्पनी हो। उत्पादन क्षमता तथा वितरणको परिमाणमा पनि गोर्खाको एकल साम्राज्य जस्तै छ। यति ठूलो कम्पनीले अर्को बियर उत्पादक कम्पनीलाई गाभ्ने कुरा स्वाभाविक छ तरु
गोर्खा ब्रुअरी नेपाली बजारमा उत्पादन र वितरणका हिसाबले एक नम्बरमात्र होइन उसका पछाडि कुनै पनि प्रतिस्पर्धी निकटसम्म छैनन्। गोर्खाको हिस्सा ५७ प्रतिशत आसपास छ भने दोस्रो कम्पनीको १६ प्रतिशत छ। बजारमा एकछत्र जस्तै भएको कम्पनीले उस्तै प्रकृतिको अर्को उद्योगलाई गाभ्दा प्रतिस्पर्धा झन सीमित हुने र एकाधिकार प्रबर्द्धन हुने जोखिम रहेको छ।
कुनै पनि उद्योग व्यवसाय एकआपसमा गाभिने, खरिद बिक्री हुनका लागि कुनै कानूनी अड्चन नभएपनि जब एकाधिकारको कुरा र सम्भावना हुन्छ तब कानूने व्यवस्था गरेको छ। प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ ले योसम्बन्धी व्यवस्था गरेको छ। ऐनको दफा ५ मा नियन्त्रित व्यापारिक अभ्यासका लागि उस्तै प्रकृतिको अर्को उद्योगसँग मिल्न, गाभिन वा आफ्नो सहायक कम्पनीसँग मिलेर ५० प्रतिशतभन्दा धेरै सेयर खिरिद गर्न वा टेकओभर गर्न नसक्ने व्यवस्था गरिएको छ।
प्रतिस्पर्धा नियन्त्रण वा नियन्त्रित व्यापरिक अभ्यासको नियतको प्रष्टीकरण पनि उक्त दफामै उल्लेख गरिएको छ। जसमा कुनै पनि दुई उद्योग वा कम्पनी मिसिँदा कूल उत्पादन वा वितरणमध्ये चालिसप्रतिशतभन्दा बढी उत्पादन वा वितरण हुने भएमा प्रतिस्पर्धा नियन्त्रणको नियत ठहर हुने उल्लेख गरिएको छ।
यो हिसाबले कूल उत्पादन अहिले नै गोर्खा ब्रुअरीको एक्लै ४० प्रतिशत बढी रहेको छ। मदिराको उत्पादनमा राज्यको प्रत्यक्ष निगारानी हुने भएकाले कुन उद्योगको उत्पादन कति हुन्छ र समग्र देशको उत्पादन कति हो भन्ने कुरा तथ्यांक हुन्छ।
हामीलाई प्राप्त विवरणअनुसार गोर्खा ब्रुअरीको उत्पादन ५० प्रतिशतमाथि रहेको छ। राज ब्रुअरी भने लामो समयदेखि पछिल्लो समय निरन्तर ओरालो लागेको उद्योग हो। यसको हिस्सा २ प्रतिशत रहेको छ।
एकातिर सरकारले मदिराको लाइसेन्स पछिल्लो डेढ दशकदेखि रोकेर राखेको छ। लाइसेन्स रोकेर बजारमा नवप्रवेशीलाई प्रतिबन्ध लगाउने अर्कोतिर भएकै बलियो कम्पनीलाई अर्को लाइसेन्स होल्डर गाभ्न दिँदा बलियो एकाधिकारको मैदान सरकारले नै दिएको मानिनेछ।
क्षमता विस्तारको अनुमति दिँदासमेत सरकारले विगतमा गोर्खालाई एकाधिकरकै प्रश्न गरेको थियो। एकाधिर नै हुँदा पनि क्षमता विस्तार आफै गर्दा त्यसले समय पाउँछ, उक्त समयसम्म अरू प्रतिस्पर्धीहरूले पनि आफ्नो तयारी तथा रणनीति बनाउन सक्छन्। बलियालाई अर्को प्रतिस्पर्धी कम्पनी खरिद गर्न दिने हो भने भोलिपल्टदेखि नै अरू उद्योग प्रतिस्पर्धामा आउनै सक्दैनन्।
२) राज ब्रुअरी पछिल्लो समय घाटामा चलिरहेको छ। उत्पादन क्षमता राम्रो भएपनि उसका उत्पादन बजारमा बिक्न छाडेपछि निरन्तर घाटामा छ। यसरी घाटामा चलिरहेको कम्पनीसँग क्षमता अतिरिक्त उपलब्ध हुन्छ।
यसरी अतिरिक्त क्षमता भएमा अर्को उद्योगले उत्पादन करार गर्नसक्ने व्यवस्था सरकारले गरिदिएको छ। औद्योगिक व्यवसाय ऐनमा यस्तो व्यवस्था छ। तर यसमा प्रतिस्पर्धी कानूनले यसमा पनि बन्देज लगाएको छ। कार्यविधिले यस्तो उत्पादन सम्झौताअनुसारको काम गर्नका लागि निवेदन दिनुपर्ने हुन्छ।
यसरी स्वीकृति दिएपछि यसको अभिलेख विभागले राख्नुपर्ने हुन्छ। तर यसरी स्वीकृति दिँदा गुणस्तर र प्रतिस्पर्धा सीमित नहुनेगरी दिनुपर्ने र अन्य प्रचलित कानूनविपरीत हुन नहुने व्यवस्था गरिएको छ।
गोर्खा ब्रुअरीको उत्पादन अहिलेदेखि नै राज ब्रुअरीबाट हुनेमात्र होइन बिलिङसमेत सोही उद्योगबाट भइरहेको छ। उद्योग विभागले यस्तो करार उत्पादनका लागि अनुमति पनि दिएको छ। एकातिर खरिद बिक्रीमै प्रश्न उठिरहेको छ भने अर्कोतिर घाटामा गएको उद्योगबाट नाफामा गएको उद्योगले उत्पादन गराएर बितरण गरिरहको छ।
कानूनी व्यवस्थाको ठाडो उल्लंघनमात्र होइन मर्मविपरीतको काम भएको पाइएको छ। राज ब्रुअरीले गोर्खा ब्रुअरीका लागि उत्पादन गरिदिएबापत निश्चित कमिसन लिनुपर्ने थियो तर उसले आफैले उत्पादन गरेर बिक्रि वितरण गरिरहेको छ। यहाँ एउटै ब्रान्डको बियर दुई उद्योगले उत्पादन गरिरहेका छन्।
राज ब्रुअरी खरिदको अनुमति दिने वा नदिने भन्ने विषयमा विभागले अध्ययन गरिरहेको छ। अनुमति नपाएपछि गोर्खाले नयाँ जुक्ति निकाल्दै उत्पादन करार सम्झौताको अनुमति लिएर राज ब्रुअरीबाट गोर्खाको ब्रान्ड उत्पादन गरिरहेको छ। यो सबै व्यावसायिक आयकर छल्ने प्रपञ्च हो।
३) अहिलेको यो मेलमा अर्को बेमेल देखिएको छ, त्यो हो करमा। गोर्खा ब्रुअरी आफ्नै उद्योगको पूर्ण क्षमता उपयोग नहुँदासम्म अर्को घाटामा गएको उद्योगमा उत्पादन गराएर त्यहीँबाट बिक्री गराएमा त्यो आम्दानी तथा नाफा घाटामा गएको उद्योगमा लेखांकन हुन्छ। यसरी लेखांकन हुँदा राज्यलाई आउने आयकर गुम्ने निश्चित छ।
राज ब्रुअरी निरन्तर घाटामा रहेको छ। अर्बौँको घाटा दायित्व भएको उद्योगबाट नाफामा रहेको गोर्खाले उत्पादन गराएर वितरण गराउँदा त्यस्तो नाफामा हुनसक्ने सम्भावित लाभ राज्यले गुमाउने देखिएको छ। यो विषयमा करसँग सम्बन्धित निकायले हेर्नैपर्ने देखिन्छ।
बिजनेस न्यूजललाई प्राप्त अडिट रिपोर्टमा आर्थिक वर्ष ०७९र०८९ सम्ममा राज ब्रुअरीको सञ्चित नोक्सानी नै चार अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। पछिल्ला तीन वर्षदेखि उसको नोक्सानी बढ्दै गएको छ। यसरी नोक्सानीमा गएको उद्योगमा अर्को चलिरहेको उद्योगलाई उत्पादनमात्र होइन विवतरणको जिम्मा दिने र त्यसको अनुमुति दिनु पनि बदनियत देखिन्छ। यसबाट गोर्खाले आफ्नो व्यापार राज ब्रुअरीलाई दिएर व्यावसायिक आयकर छल्ने काम गरिरहेको पुष्टि हुन्छ।
बिजनेशन्यूजबाट साभार