मुख्यमन्त्री लामाले भोली राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि भोली आइतबार पदबाट राजीनामा दिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए ।

‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’

भोली आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उनले स्पष्ट पारे । मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताए ।

मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज भएका छैनन् । मूत्र थैलीमा सङ्क्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।