ओली दुबईमा अवतरण, एलएलडीसी सम्मेलनको यात्रामा

 प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो भूमि अवरुद्ध विकासशील राष्ट्रहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलन (LLDC) मा सहभागी हुन दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्ने क्रममा आज बिहान दुबई पुगेका छन्।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनलाई यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्री सहित अन्य अधिकारीहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको टोली हिजो राति ११:५५ बजे फ्लाइ दुबईको उडानमार्फत दुबई पुगेको हो। प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बर्डीमोहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सो सम्मेलनमा सहभागी हुन लागेका हुन्।

एलएलडीसी सम्मेलन आगामी अगस्ट ५ देखि ८ तारिखसम्म तुर्कमेनिस्तानको आभाजा शहरमा आयोजना हुनेछ। सम्मेलनमा प्रधानमन्त्री ओलीले भूमि अवरुद्ध राष्ट्रहरूको चुनौती, विकासका सम्भावना र क्षेत्रीय सहकार्यबारे नेपालका तर्फबाट धारणा राख्ने कार्यक्रम छ।