संघीय संसद, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त ‘संवैधानिक परिषद (कार्य, कर्तव्य, अधिकार तथा कार्यविधि) (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी सन्देश महासचिवलाई जानकारी गराइनेछ।
साथै, लेखा समितिका अध्यक्ष ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समिति ३२औं वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लेख सुझावहरू स्वीकृतिका लागि प्रस्ताव पेश गर्नेछन्। यो प्रस्ताव आर्थिक प्रक्रिया तथा वित्तीय जवाफदेहिता ऐन, २०७६ को धारा ४१ को उपधारा २ अनुसार प्रस्तुत हुँदैछ।
यसैगरी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेल विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न सक्ने सम्भावना रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मत्स्य उद्योगमा विश्व व्यापार संगठनको सन्धि सम्बन्धी सम्झौता अनुमोदनका लागि प्रस्ताव राख्ने कार्यक्रम छ। आजको बैठकमा यी मुख्य एजेन्डाहरूमाथि महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।