कोरियामा रोजगारीकाे लागि भाषा परीक्षामा आवेदन खुला, ५३०० काेटा

दक्षिण कोरियामा रोजगारीका लागि ईपीएस (EPS) अन्तर्गत भाषा परीक्षा दिन चाहने नेपालीका लागि आवेदन खुला गरिएको छ। आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियन मानव संशाधन विकास संस्था (HRD Korea) सँगको सहकार्यमा आवेदन प्रक्रिया सुरु गरेको हो।

यो चरणमा ५ हजार ३०० जना नेपालीलाई रोजगारीको अवसर दिइनेछ। जसमा ३ हजार ५०० कोटा उत्पादनमूलक क्षेत्रका लागि र १ हजार ८०० कोटा कृषि तथा पशुपालन क्षेत्रका लागि छुट्याइएको छ। एक जनाले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। भाषा परीक्षा पास गरेपछि मात्र दोस्रो चरणको सीप परीक्षा (Skill Test) र दक्षता परीक्षण (Competency Test) मा सहभागी हुन पाइनेछ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले मात्र आवेदन दिन पाउनेछन्। भाषा परीक्षा काठमाडौंमा संचालन हुनेछ। कोरियामा वैदेशिक रोजगारी खोज्ने युवाहरूका लागि यो अवसर महत्वपूर्ण मानिएको छ। आवेदन अनलाइनमार्फत दिइनुपर्ने र सम्पूर्ण प्रक्रिया निर्धारित मापदण्डअनुसार हुने जानकारी ईपीएस शाखाले दिएको छ।