खाने तेल निर्यातले अर्थतन्त्रमा फेरि चलायमानता

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

लामो समयदेखि ओरालो लागेको प्रशोधित खाने तेलको निर्यातले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य सुधार देखाएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार, नेपालले एकै वर्षमा १ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.४२ गुणा बढी हो, जहाँ कुल निर्यात ७ अर्ब ४० करोड २५ लाख रुपैयाँ मात्र थियो।

गत वर्षको कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यातमा प्रशोधित खाने तेलको योगदान ४३.९ प्रतिशत रहेको छ। यसमा पनि भटमासको तेलको निर्यात सबैभन्दा धेरै बढेको छ। अघिल्लो वर्ष ९० करोड २५ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएकोमा गत वर्ष ११७३२.८१ प्रतिशतको वृद्धि सहित १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ पुगेको छ। यसले कुल निर्यातमा ३८.५ प्रतिशतको योगदान पुर्‍याएको छ।

त्यस्तै, सूर्यमुखी तेलको निर्यात पनि ७५.३५ गुणा बढेर १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ। कुल निर्यातमा यसको योगदान ४.४ प्रतिशत छ। यद्यपि, पाम तेलको निर्यात भने ६१.९० प्रतिशत घटेर २ अर्ब ४१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

खाने तेलको निर्यातमा आएको यस उछालको प्रमुख कारणहरूमा ठोस नीतिगत लचकता, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ, प्रविधिमा लगानी र छिमेकी भारतमा उच्च मागलाई लिइएको छ। यसका साथै, रुपैयाँमै कारोबार र साफ्टा अन्तर्गतको कर छुटजस्ता सुविधाहरूले पनि यसलाई थप प्रोत्साहन दिएको व्यवसायीहरू बताउँछन्।

निर्यात बढेसँगै कच्चा तेलको आयातमा पनि ठूलो वृद्धि भएको छ। गत वर्ष १ खर्ब ४४ अर्ब ७९ करोड २३ लाख रुपैयाँ बराबरको कच्चा तेल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७३९ प्रतिशतले बढी हो। यसमा सबैभन्दा धेरै भटमासको कच्चा तेल आयात भएको छ, जुन ७१२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। सूर्यमुखीको कच्चा तेल आयात पनि ६३ प्रतिशतले बढेर २९ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ।

पछिल्लो पाँच वर्षमा नेपालले कुल ३ खर्ब ३१ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात गरिसकेको छ। यो तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा प्रशोधित खाने तेलको महत्व फेरि एकपटक स्थापित भएको देखाउँछ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार