नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (NSCCI) र श्रीलंकाको चेम्बर अफ एक्सपोर्टबीच व्यापार, लगानी, संयुक्त उद्यम, सेवा, प्रदर्शनी र औद्योगिक सहयोग विस्तार गर्न सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।
श्रीलंकाका लागि नेपालस्थित कार्यवाहक राजदूत (Acting Ambassador) चमेरा मुनासिंघेको उपस्थितिमा जुम मिटिङमार्फत सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपालतर्फबाट NSCCI का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकातर्फबाट चेम्बर अफ एक्सपोर्टका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत एम. शिहम मारिकरले हस्ताक्षर गरे।
श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले यो सहकार्यलाई ऐतिहासिक बताउँदै दुई देशबीच व्यवसायिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन्। सम्झौताअनुसार दुबै मुलुकबीच व्यापार, लगानी, सेवा प्रवाह, उद्योग र बजार विकासमा जानकारी आदानप्रदान, भ्रमण, प्रदर्शनी र मेलाहरूको आदानप्रदान तथा सहकार्य हुने भएको छ। साथै, दुबै पक्षले एकअर्काको देशमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेला तथा कार्यक्रमहरूमा सहभागिता जनाउने र प्रोत्साहन गर्ने सहमति समेत गरिएको छ।
आउँदो सेप्टेम्बर १८ देखि २१ तारिखसम्म श्रीलंकामा आयोजना हुने इण्डष्ट्रियल एक्स्पो मा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने पक्का भएको छ। निकट भविष्यमा नेपालमा पनि यस्तै प्रकृतिको एक्स्पो आयोजना गरिने र त्यसमा श्रीलंकाली प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ। सम्झौतामा उल्लेख भएअनुसार, दुवै मुलुकका व्यवसायीहरूबीच उत्पन्न हुन सक्ने व्यापारिक विवाद समाधानमा परस्पर सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ। साथै, NSCCI र चेम्बर अफ एक्सपोर्टले एकअर्काको मुलुकमा कार्यालय तथा सचिवालय सुविधा प्रयोग गर्न सक्नेछन्।
सम्झौता दुबै देशबीच आर्थिक, व्यवसायिक र औद्योगिक सम्बन्धको गहिरो जग बसाल्ने दिशातर्फको ठुलो कदम मानिएको छ।