नामी ०१: काठमाडौंको सडकमा प्रिमियम ईभीको नयाँ अनुभव

 विश्वप्रसिद्ध अटो निर्माता डोङफेङको नयाँ ऊर्जा सवारी ब्रान्ड ‘नामी’ अन्तर्गतको पहिलो उत्पादन ‘नामी ०१’ काठमाडौंका सडकमा दौडिन थालेको छ। गत वर्ष जेठमा नेपाल भित्रिएको यो प्रिमियम फिचरयुक्त इलेक्ट्रिक ह्याचब्याक डोङफेङ क्वान्टम आर्किटेक्चर एस–३ प्लेटफर्ममा आधारित छ र यस सेग्मेन्टमा दुर्लभ मानिने फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ जस्ता सुविधासहित आएको छ।

डिजाइन र आयाम
गोलाकार तथा भविष्यवादी डिजाइनसहितको नामी ०१ मा क्लोज्ड ग्रिल, त्रिकोणाकार हेडलाइट, लुकेका डोर ह्यान्डल, सस्पेन्डेड रूफ डिजाइन र गोलाकार टेललाइट छन्। यसको लम्बाइ ४०३० मिमि, चौडाइ १८१० मिमि, उचाइ १५७० मिमि र ह्वीलबेस २६६० मिमि छ। १७५ मिमि ग्राउण्ड क्लियरेन्ससहित १६–इन्च (वैकल्पिक १७–इन्च) रिम्स र २१५/६० आर १६ टायर साइजमा उपलब्ध यो मोडल ५ यात्रु अट्ने क्षमतासहित डुअल टोन रंगमा आएको छ।

इन्टेरियर र प्रविधि
इन्टेरियरमा ब्ल्याक–ह्वाइट वा ब्ल्याक–ग्रे कलर स्किम उपलब्ध छ। १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट (मोबाइल रिमोट कन्ट्रोल, OTA अपडेट, स्मार्ट भ्वाइस कन्ट्रोलसहित), ५ इन्च एलसिडी इन्स्ट्रुमेन्ट प्यानल र स्पोर्टी दुई–स्पोक मल्टीफंक्शन स्टेरिङ ह्वील जडान गरिएको छ। ३२–कलर एम्बिएन्ट लाइटिङ, वायरलेस मोबाइल चार्जिङ, पुल–आउट ग्लोभबक्स ड्रअर र वन–क्लिक लाय–फ्ल्याट सिट फिचरले यसलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षा र ड्राइभर असिस्ट
नामी ०१ ले ADS २.० लेवल–२ प्रविधि सपोर्ट गर्छ। ब्लाइन्ड–स्पट मोनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, फरवार्ड कोलिजन् वार्निङ, लेन–किपिङ असिस्ट, ट्राफिक साइन रेकग्निशन, एडाप्टिभ क्रूज कन्ट्रोल, ३६०–डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग उपलब्ध छन्।

पावरट्रेन र ब्याट्री
नेपालमा आएको संस्करणमा ४२.३ kWh लिथियम–आयरन–फस्फेट ब्याट्री प्याक छ, जसको दाबी गरिएको रेन्ज ४३० किलोमिटर (CLTC मापदण्ड) हो। यसमा ७० kW मोटर (१६० Nm टर्क) छ, जसले १४० km/h गति दिन सक्छ। अर्को भेरिएन्टमा ३१.४५ kWh ब्याट्री प्याक र ३३० km रेन्ज उपलब्ध छ।

चार्जिङ क्षमता
DC फास्ट चार्जिङमार्फत ८ मिनेटमा २०० km रेन्ज चार्ज गर्न सकिने र ३०%–८०% चार्ज ३० मिनेटमा हुने सुविधा छ। AC स्लो चार्जिङ पनि उपलब्ध छ।

मूल्य र बजार
चीनमा जनवरी ७, २०२५ मा आधिकारिक रूपमा लन्च भएको यस मोडलको मूल्य त्यहाँ ७४,८००–१०४,८०० युआन (करीब १०,४००–१४,६०० अमेरिकी डलर) तोकिएको थियो। नेपालमा यसको आधिकारिक मूल्य ३९ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन एमएडब्ल्यू वृद्धिले सार्वजनिक गरेको हो।