सासेक बैठक काठमाडौंमा प्रारम्भ, सीमापार व्यापार सहजीकरणमा जोड

दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको यस बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र द्रुत बनाउन सबै सदस्य राष्ट्रबीच ठोस सहकार्य अपरिहार्य रहेको बताए। उनले आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनमार्फत ढिलाइ कम गर्न, पारदर्शिता बढाउन र क्षेत्रीय आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टाराईले बैठकले सदस्य राष्ट्रबीच भन्सार प्रक्रिया, यातायात व्यवस्थापन र सीमापार व्यापारमा सहकार्यलाई सुदृढ बनाउने बताए। उनले डिजिटल प्रविधिले व्यापारलाई छिटो, सजिलो र पारदर्शी बनाउनेतर्फ सदस्य राष्ट्रहरू अग्रसर रहेको र यस्ता बैठकहरूले उक्त प्रयासलाई गति दिनेमा जोड दिए।

बैठकमा प्रमुख सीमा नाकामा भन्सारसम्बन्धी कागजातहरूको आदान–प्रदान, आयात–निर्यात हुने वस्तुको विवरणसहितको पूर्वसूचना प्रणालीको विकास, इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको प्रयोग, सीमा व्यवस्थापन तथा यातायात सहजिकरणका विषयमा छलफल हुने जानकारी भन्सार विभागका निर्देशक नारायण प्रसाद रेग्मीले दिए।

सहभागी देशका प्रतिनिधिहरूले प्रक्रियागत जटिलता र ढिलाइ कम गर्न आधुनिक प्रविधि र अन्तरसरकारी समन्वय अपरिहार्य रहेकोमा जोड दिएका छन्। बैठकले क्षेत्रीय व्यापारका साझा नीतिहरू निर्माण, भन्सार प्रक्रियाको पूर्ण डिजिटलाइजेशन, पूर्वाधार विकास र सूचना प्रविधिको प्रवर्द्धनजस्ता उपायहरू पहिचान गर्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म चल्ने यो सम्मेलनले भन्सार र सीमा व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।