एभरेष्ट बैंकको नाफा पाँच अर्ब नजिक, ३३ प्रतिशत वृद्धि

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा झन्डै पाँच अर्ब पुर्याउँदै करिब ३३ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सोमबार सार्वजनिक गरेको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत आवमा बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ पुगेको हो, जुन अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत वृद्धि भई ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो। यस्तै, संचालन नाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र संचालन नाफामा आएको उल्लेखनीय वृद्धि नै खुद नाफा बढ्ने मुख्य कारण भएको बैंकले जनाएको छ।

वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ३ अर्ब ३० करोड २३ लाख रुपैयाँभन्दा धेरै हो। यस आधारमा बैंकले आफ्ना सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष यस्तो क्षमता ३८.०६ प्रतिशत थियो।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ र जगेडा तथा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ३७.९९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा ०.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आवको ०.७१ प्रतिशतभन्दा कम हो। यसले बैंकको ऋण गुणस्तर सुधार भएको संकेत गरेको छ। बैंकले यो वर्षलाई स्थिर वृद्धि र सेयरधनीमैत्री नीति कार्यान्वयनको वर्षका रूपमा लिएको जनाएको छ।