सानिमा बैंकको नाफा साढे २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा दोब्बर

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा साढे दुई अर्बभन्दा बढी खुद नाफा कमाउँदै अघिल्लो आवको तुलनामा ७.२४ प्रतिशत वृद्धि गरेको छ। सोमबार सार्वजनिक गरिएको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, बैंकको खुद नाफा २ अर्ब ७१ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ थियो।

गत आवमा बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब १८ करोड १६ लाख रुपैयाँ थियो। यस्तै, संचालन नाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा पुगेको छ। खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सामान्य वृद्धि नै नाफा वृद्धिको आधार बनेको हो।

तर, वितरणयोग्य नाफामा भने उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आवमा १ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत आवमा ९२.१३ प्रतिशतले बढ्दै २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले यस वर्ष सेयरधनीलाई २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

बैंकको खराब कर्जा अघिल्लो आवको १.०२ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ। हाल प्रतिसेयर आम्दानी (EPS) १८.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ संचित छ। सानिमा बैंकले स्थिर नाफा वृद्धि र सेयरधनीमैत्री लाभांश वितरणलाई आगामी वर्षको प्राथमिकता बनाउने जनाएको छ।