नेपाल सरकारले ‘वन नियमावली, २०७९’ मा तेस्रो संशोधनको मस्यौदा तयार गर्दै विकास आयोजना र खानीजन्य उद्योगका लागि राष्ट्रिय वन क्षेत्र प्रयोगको प्रक्रिया सहज बनाउने पहल अघि बढाएको छ। वन मन्त्रालयले तयार पारेको यस प्रस्तावमा, अघिल्लो जग्गा सट्टा भर्ना प्रणाली खारेज गरी पूर्ण रूपमा नगद क्षतिपूर्ति प्रणाली लागू गर्ने व्यवस्था गरिएको छ।
संशोधन मस्यौदाको सबैभन्दा ठूला परिवर्तनमध्ये एक, खानीजन्य उद्योगलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने प्रावधान हो। हालसम्म पूर्वाधार विकास आयोजना मात्र लाभान्वित हुने यो सुविधा अब राष्ट्रिय प्राथमिकता प्राप्त खानी उद्योगले पनि पाउनेछन्। यसका लागि नियमावलीको परिच्छेद–१२ को शीर्षक नै परिवर्तन गरी ‘विकास आयोजना वा खानीजजन्य उद्योगलाई राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने सम्बन्धी व्यवस्था’ राख्ने प्रस्ताव गरिएको छ। खानी उद्योगले वन प्रयोग गरेबापत तोकिएको रोयल्टीसँगै थप १०% वातावरणीय सेवा शुल्क वन विकास कोषमा जम्मा गर्नुपर्नेछ।
जग्गा सट्टा दिने प्रचलनलाई अन्त्य गर्दै, अब तीन तहको नगद क्षतिपूर्ति दिने प्रावधान प्रस्ताव गरिएको छ—प्रयोग भएको क्षेत्रको मूल्यबापत रकम, सोही क्षेत्रफलमा वृक्षरोपण र पाँच वर्षको सम्भार खर्च, र रूख–पोल हटाइएका संख्याको पाँच गुणा रोपण तथा संरक्षण खर्च।
अन्य प्रावधानमा, सुरक्षा निकायले मन्त्रिपरिषद्को निर्णयबाट वन प्रयोग गर्न पाउने, र रूख हटाउने अधिकार प्रदेश मन्त्रालयलाई दिने व्यवस्था छ। क्षतिपूर्तिबापतको सम्पूर्ण रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र रूख हटाउन स्वीकृति दिइनेछ।
सकारात्मक पक्षमा, नगद क्षतिपूर्ति प्रणालीले लागत अनुमान सजिलो बनाउने, खानी उद्योगका लागि कानुनी आधार सिर्जना गर्ने, र संघीयताको कार्यान्वयनमा योगदान पुर्याउने देखिन्छ। तर, सरोकारवालाहरूले वन विनाशको जोखिम, प्राकृतिक वन र जैविक विविधताको क्षति, र वृक्षरोपणको कमजोर कार्यान्वयनबारे चिन्ता व्यक्त गरेका छन्।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की पूर्वअध्यक्ष भारती पाठकले मस्यौदा संवेदनशील भएको भन्दै पर्याप्त छलफल बिना अघि बढाउन नहुने चेतावनी दिएकी छन्। उनले भनेकी छन्, “पैसाले जग्गा साट्ने प्रावधानले वनको अस्तित्व नै संकटमा पार्न सक्छ, यो थप छलफलको विषय हो।”
यस मस्यौदाले एकातिर विकास र उद्योगका लागि बाटो खुला गरे पनि अर्कोतिर वन संरक्षणको चुनौतीलाई गहिरो बनाउने संकेत देखिएको छ।
https://drive.google.com/file/d/1d9DSZOG5PWvrNDpiXisc_j_6ZUCoCSXC/view