माबिलुङ्ग एनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला, न्यूनतम १० कित्ताबाट आवेदन

माबिलुङ्ग इनर्जी लिमिटेडले सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओको बिक्री तथा बाँडफाँट सम्पन्न गरिसकेको थियो।

कम्पनीलाई आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको अनुमति प्राप्त छ।

पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन वितरण भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर सार्वजनिक गरिरहेको छ। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

सर्वसाधारणले न्यूनतम १० कित्ताबाट आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ।