बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीलाई ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत, अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको हो। यस अन्तर्गत ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त शेयरमध्ये ६५ प्रतिशत हिस्सा अति प्रभावित क्षेत्र अन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, बुङ्गल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं ४, ५ र ७) र वडा नं ७ (साविक कफलसेरी गाविस वडा नं १०) का बासिन्दाका लागि निर्धारण गरिएको छ। बाँकी ३५ प्रतिशत हिस्सा सामान्य प्रभावित क्षेत्रका बुङ्गल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दालाई दिइनेछ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओमा इच्छुकले आजभित्र अनिवार्य रूपमा आवेदन बुझाउनुपर्नेछ।